आफू मरेर पनि देश बचाउनेहरुलाई सलाम !


  • सबैभन्दा धेरै आमाको माया, त्यत्तिकै बढी माटोको माया । आमा र माटो, यी दुई कुरा नहुँदाहुन् त यो धर्तीमा न मानव जीवन सम्भव हुन्थ्यो न त मानवीय सभ्यता र पहिचानको । आमाबाट जीवन प्राप्त हुन्छ अनि माटोबाट पहिचान र सभ्यता । पहिचान र सभ्यताविना मानव जीवन अलि अधुरो रहन्छ । तर, हाम्रो देशमा अझै कैयन यस्ता भू–भाग पनि छन्– जहाँका वासिन्दाले धित मर्ने गरी माटोको माया अँगाल्न पाएका छैनन् ।

आफ्नै माटोभित्र बस्छन् तर मनभरि खुशी बोकेर आफ्नै माटोलाई स्पर्श गर्न पाएका छैनन् । आफू बसेको माटोलाई अंगालो मार्न त चाहन्छन् तर धित मर्ने गरी सुम्सुम्याउन पाएका छैनन् । अँध्यारो–उज्यालो, औँशी–पूर्णिमा, उकालो–ओरालो त अरुहरुजस्तै यिनीहरुले कटाएकै छन् तर दुःख पर्दा चिच्याहट गरेर आफ्नो माटोलाई वेदना सुनाउन पाएका छैनन्, न त खुशीको बेला हर्षको सगुन नै समर्पण गर्न पाएका छन्– आफ्नो माटोप्रति । धन्य छन् उनीहरु, आफू मरेर पनि माटोलाई बचाएका छन् ।

आफ्नो माटोभित्र सुविधा र शौकतका साथ फनफनी नाच्न नपाए पनि पराइ बुटहरु बज्रन दिएका छैनन्, यिनीहरुले । धेरै लामो समय त भएको छैन, यिनीहरु यहाँ बस्न थालेको तर जहिलेदेखि बसे, माटोको रक्षक बनेर बसेका छन् । पराइको अपहेलना, भौतिक र मानसिक यातना अनि बुट, लाठी त दालभात भएको छ यिनीहरुका लागि । तर, यिनीहरु गर्वका साथ भन्छन्– ‘हामीले जति अपमान र दुःख पीडा भोगे पनि देशको पिलर जोगाएका छौं, माटोमा पराइ बुट बज्रन दिएका छैनौं ।’ धन्य, ‘मानवपिलर’ बनेका सीमा रक्षकहरु ! दाङमा बस्न थालेको दशक बितिसक्यो तर दाङकै नाका क्षेत्रमा पुग्ने सौभाग्य मिलेको थिएन ।

यसै मेसोमा राजपुर गाविसले भारतीय सीमासँग जोडिएको भौवानामा पहिलोपटक पत्रकारिता तालिम गर्न थालेको जानकारी केही महिनाअघि नै पाएको थिएँ । राजपुर गाविसमा यसअघि पनि लगातार दुई वर्ष पत्रकारिता तालिममा पुगेर केही सिकाउने अवसर पाएकाले सम्भवतः यसपटक पनि निम्तो आउँछ भन्ने लागेको थियो र पत्रकार महेश रिजाल (जो राजपुर गाविसमा राजमोको तर्फबाट बोर्ड प्रतिनिधि पनि हुनुहुन्छ)ले घोराहीमा आएको बेला त्यस्तो संकेत पनि गर्नुभएको थियो । नभन्दै गएको सोमवार अचानक उहाँले फोन गरेर भोलिपल्ट नै त्यसतर्फ जान निम्तो गर्नुभयो ।

भोलि के कति कार्यक्रम छन्, अफिसमा को कसको विदा छ, केही पनि ख्याल नगरी मैले तत्कालै ‘हुन्छ’ भन्ने जवाफ दिएँ । त्यति हतारो जवाफ दिनुको एउटै कारण थियो– नाका जाने पहिलेदेखिकै चाहना । मंगलवार बिहानै मलाई लिन त्यस क्षेत्रका सक्रिय राजनीतिकर्मी एवं समाजसेवी श्यामबहादुर झाँक्री घोराही आएको जानकारी पाएँ, लगत्तै सहिद गेटअगाडिबाट मोटरसाइकल चढेर देउखुरीतर्फ प्रस्थान ग¥यौं । लमही पुगेपछि अन्य साथीहरुसँग भेट भयो र कुन बाटोबाट जाने छलफल भएपछि पैदल हिडेरै भए पनि नेपालकै बाटोबाट जाने निष्कर्षमा हामी पुग्यौं । आफ्नै देशको एउटा भू–भागमा जान पनि भारतीय बाटो प्रयोग गर्नुपर्ने बिडम्बनापूर्ण स्थितिप्रति दुःखित हुँदै जस्तोसुकै कठिन यात्रा गरेर भए पनि नेपालकै बाटोमा जाने निधो गरेर हामी बाँकेको कुसुम हुँदै नाकातर्फ लाग्यौं ।

अविस्मरणीय ट्याक्टर यात्रा

कुसुमबाट कोही मोटरसाइकलबाट र कोही ट्याक्टर हुँदै हामी आधा बाटोसम्म गयौं र त्यसपछि लगातार उकालो ओरालो हुँदै भौवा पुग्दा अँध्यारो भइसकेको थियो । पहिलोपटक नाका क्षेत्रमा जाँदै गरेका हाम्रा लागि त्यहाँको यथार्थ बुझ्न हतारो त थियो तर हामी पत्रकारिता तालिम चलाउन जान थालेकाले त्यहाँ सबैका लागि त्यति चासोको विषय होला जस्तो लागेको थिएन । झिसमिसे अँध्यारोसँगै नाकामा पुग्नेबित्तिकै नितान्त फरक दृश्य देखिन थाले र भिन्न अनुभूति हुन थाल्यो । एउटा घरको आँगनभरि चटाइ र कम्मल बिछ्याइएको छ । नजिककै खाना पकाउने तयारी हुँदैछ । कोही भात पकाउने पानी उमाल्दै छन्, कोही दाल पकाउँदै छन् त कोही खसी काट्दै छन् ।

‘खाना बनाउन अलि ढिला भयो भोक लाग्यो होला है’– मीठो मुस्कानसहित स्थानीय शान्तकुमार बुढाको प्रश्न आउँछ । हामीले ‘हैन हैन… कहाँ लाग्नु..’ यस्तै जवाफ दियौं । बाहिर हामीले केही कुराकानी पनि गरिरहेका थियौं तर भित्रभित्रै नितान्त फरक कल्पनाको संसारमा हराउन थालिसकेछु । मेरो सम्झनाको रिल घुम्दैछ र म फर्कदै छु– अतिततिर । यस्तै सौहार्दता, यस्तै सामूहिकता, यस्तै हार्दिकता र मनमा गहिरो आस्थाभाव । झण्डै एक दशकअघि रोल्पा–रुकुमका वस्तीवस्तीमा पुग्दा निकै रोमाञ्चक अनुभूति हुन्थ्यो ।

उतिबेलाको रोल्पा रुकुमको झल्को

पवित्र मन र गहिरो आस्थाभावका साथ गरिने स्वागत सत्कार निकै मीठो हुन्छ । स्वागत गरिदिने र गर्ने फरक कुरा हो । हृदयदेखि स्वागत गर्ने र औपचारिकताका लागि स्वागत गर्ने फरक कुरा हो । औपचारिकतामा आधारित स्वागत स्वार्थबाट प्रेरित हुन्छ भने हृदयदेखिको स्वागत सम्मानभावबाट प्रेरित हुन्छ, जहाँ आस्था र अटुट माया जोडिएको हुन्छ । उहिले रोल्पा–रुकुमका वस्तीमा गरिने स्वागत सत्कार पनि हृदयदेखिको हुन्थ्यो ।

सम्मानभावबाट प्रेरित हुन्थ्यो र आस्था निष्ठाको अटुट प्रेमसँग जोडिएको हुन्थ्यो, जहाँ एक दशकपछि ‘देशभित्रै प्रदेश’ बनेको नाका क्षेत्रमा भेटियो । एक दशकअघि रोल्पा–रुकुमका वस्तीको स्वागत सत्कारसँग जोडिएको आस्था निष्ठाको प्रेमडोरी चुँडियो वा बाँकी छ भन्ने त समीक्षाकै विषय छ तर सीमाक्षेत्रसँग भेटिएको आस्था र प्रेमको साइनो नेपाली माटोसँग जोडिएको छ ।

यो पंक्तिकारलाई राम्ररी थाहा छ– यो स्वागत सत्कार कुनै व्यक्ति विशेषलाई होइन, आफ्नो माटोप्रतिको आदर हो, नेपाली भूमिप्रतिको उच्च सम्मान हो । अर्को अर्थमा लिंदा ‘मानवपिलर’ बनेर देश बचाउन अहोरात्र खटेका सीमा रक्षकहरुले देशबाट पाउनुपर्ने जति सम्मान र सुविधा नपाउँदा गरेको मीठो व्यंग्य पनि हो । शहर बजारको उपभोक्तावादी जमानामा एउटा ‘सानो काम’मा सिंगो गाउँ नै उल्टेर लाग्नु र काम फत्ते नहुँदासम्म निरन्तर त्यसैमा खट्नु निश्चय नै धेरैका लागि अनौठो विषय हुनसक्छ । हामीबाट सामूहिकता हराउँदैछ ।

सामूहिकता मानवीयतासँग जोडिएको हुन्छ । सामूहिकता स्वार्थबाट टाढा रहेको हुन्छ । हामी गफ र भाषणमा समाजवाद, साम्यवादका कुरा त गछौं तर हामीबीचबाट सामूहिकता धेरै टाढा पुगिसकेको छ । सामूहिकताको अवशेष खोज्न चाहनेका लागि नाका क्षेत्र एउटा गन्तव्य पक्कै हुनेछ । नाका क्षेत्रका जनताको कामप्रति सामूहिकता, जिम्मेवारीप्रति दायित्वबोध, अधिकारप्रतिको सचेतता र नेतृत्वप्रतिको विश्वास हेर्दा लाग्छ– यहाँ ‘समाजवादको प्रारम्भिक अभ्यास’ हुँदैछ ।

सेवा सुविधाको विस्तारसँगै ‘पूँजीवादी भाइरस’को संक्रमणले सामूहिकताको अभ्यासमाथि हुने प्रहारलाई नाकावासीले कति बचाउन सक्ने हुन्, यो त प्रश्न त थाँती नै राखौं तर अहिले उनीहरुले गरिरहेको सामूहिकताको अभ्यास लोभलाग्दो, प्रशंसनीय र अनुशरणयोग्य छ । हाम्रो दोस्रो दिनको यात्रा बिहानै विद्यालयतर्फ सोझियो र सिंगो दिन त्यहाँका शिक्षकविद्यार्थीसँगको कुराकानी र तालिम प्रशिक्षणमै बित्यो ।

दाङको उपनिवेश देउखुरी र देउखुरीको उपनिवेश नाका

 

जिल्ला सदरमुकाम, गाविस सदरमुकाम आदिबाट गएका नयाँ व्यक्तिलाई आफ्नो पीडा र वेदना सुनाउन जति आतुर छन् नाकावासीहरु, त्यत्तिकै आफूहरु ‘मानवपिलर’ बनेर सीमा रक्षामा जुटेको सगौरव घोषणा गर्न पनि हिच्किच्याउँदैनन् । ‘दाङको उपनिवेश देउखुरी र देउखुरीको उपनिवेश नाका क्षेत्रमा बसेका हामी नाकावासीहरु तलविनाका सीमा रक्षक हौं, हाम्रो दुःख पीडा त यो देशले बुझेन नै, हामीले देश बचाउन गरेको प्रयासलाई समेत बुझ्न नचाहँदा दुःख लाग्छ’– नाका क्षेत्रको एक मात्र माध्यामिक विद्यालय शिवशक्ति माविका प्रधानाध्यापक चुडामणि आलेको यो अभिव्यक्तिले नाकावासीको प्रतिनिधित्व गरिरहेछ ।

जिल्ला र देशको राजधानीको कुरै छाडौं, आफ्नै गाविसको सदरमुकाम पुग्न एकदिनको समय लाग्छ । जहाँ देश त छ तर आफ्नै देशसँग सञ्चार सम्पर्क छैन । जहाँ आफ्नो देशको मुद्रा विक्री हुँदैन तर पनि देशप्रतिको अटुट माया र गहिरो आस्थाले सधैँ छाती फुलिरहन्छ यिनीहरुको । नाकाभन्दा बाहिरका अन्य देशवासी पुग्दा उनीहरु देशप्रतिको माया र आस्था झल्काउन जे पनि गर्न तयार हुन्छन् यिनीहरु । हाम्रो यात्राको समय ढल्कदै जाँदा एउटा खबर आयो– आज तपाइँहरुको सम्मानमा सांस्कृतिक साँझ हुँदैछ । यो पनि निकै अनौठो लाग्यो र उनीहरुको सद्भावप्रति झनै नतमस्तक हुन मन लाग्यो ।

पछि मात्र थाहा लाग्यो– हामीलाई सांस्कृतिक कार्यक्रम देखाउन उनीहरुले निकै दुःख गरेछन् । गाउँको सांस्कृतिक अभियन्ता बनेको समाज सुधार युवा क्वलले एउटा सांस्कृतिक परिवार तम्तयार अवस्थामा राखेको रहेछ । त्यसमा त केही समयको रिहर्सलबाहेक खासै दुःख भएन तर रातमा कार्यक्रम देखाउँदा चाहिने उज्यालो खोज्न उनीहरुले निकै दुःख गर्नुपरेछ । भारतबाट जेनेरेटर अघिल्लो दिन नै मगाए पनि साँझ मात्र आइपुग्यो तर त्यसले राम्ररी काम नगरेपछि साँझ नै भारत पुगेर अर्को जेनेरेटर ल्याएर भए पनि उनीहरुले कार्यक्रम गरिछाडे । देशप्रतिको सम्मान र माटोप्रतिको आस्था निष्ठाले भरिएका उनका प्रस्तुतिहरु रातभरि हेर्दा पनि रत्तिभर पट्यार लागेन बरु उनीहरुको देशभक्तिलाई सलाम गर्न मन लाग्यो ।

मानवपिलर हुन् यिनीहरु

त्यहाँको विकास निर्माण र भौतिक संरचना हेर्दा राज्यको गैरजिम्मेवारीपन सहजै बुझ्न सकिन्छ तर पनि उनीहरु निरन्तर ‘मानवपिलर’ बनेर सीमा रक्षामा जुटिरहेका छन् । हिजोका जंगे पिलरहरुको राज्यलाई नै वास्ता छैन भने सीमावासीलाई मात्र के चासो तर जहिलेदेखि उनीहरु यहाँ बसे, यहाँ रहेका पिलर एक इञ्च पनि यता सार्न दिएका छैनन् रे । पराइँको हेपाइ सहँदै आफ्नो निजी अस्मितालाई समेत ख्याल नगरेर नाकावासीहरु देशको अस्मिता जोगाउन अहोरात्र खटेका छन् । पराइले सीमा मिचे प्रतिवाद गर्छन् र नसके राज्य गुहार्न वस्ती छाड्छन् उनीहरु । ‘देश बचाऊ’ भन्दै राज्यको कानसम्म चिच्याहट गर्दै उल्टै दमनको सामना गर्नुपरे पनि देश बचाउन छाडेका छैनन् नाकावासीहरु ।

नाकावासीले माटो बचाउन जीवन सुम्पिएका छन्, राज्य चलाउनेहरुको मनमस्तिष्कमा पनि कतै मानवीयता र राष्ट्रियताको भाव छ भने नाकावासीहरुको योगदानलाई सम्मान गर, उनीहरुले मागेको सेवा सुविधा देऊ । नाका क्षेत्रको यात्राले दिएको यस्तै–यस्तै निर्देश आत्मसात गर्दै, ‘मानवपिलर’ बनेर सीक्षा रक्षक बनेका नाकावासीहरुलाई सलाम ठोक्दै हामी भने फक्यौं पुरानै कर्मथलोतिर ।

2 thoughts on “आफू मरेर पनि देश बचाउनेहरुलाई सलाम !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>