Articles

पिताजीलाई सम्झँदा…

पन्ध्र पूरा गरेर सोह्र बर्षमा प्रवेश गर्दैगरेको चञ्चले किशोर । दैनिक चार घण्टासम्म हिडेर विद्यालय पुग्नुपर्ने बाध्यता । भर्खरै टेस्ट सकाएर एसएसलीको तयारी गर्न सदरमुकाम प्रवेश गरेको सात दिन मात्र भएको छ ।

ट्यूसन कक्षामा छिरेको दश मिनेट जति भएको हुँदो हो, गाउँबाट आएको दुई जना व्यक्तिले भने– कान्छा घर जानुपर्ने भो । म रुखबाट खसेझैं भएँ । मैले किन भन्ने धृष्टतासमेत गरिनँ किनकि मैले ठूलै अनिष्टको संकत पाइसकें । ‘बुवा बिरामी पर्नुभएको छ’– छिमेकी चुडामणि कवँरको अधूरो सूचना भूइँमा नखस्दै मलाई लाग्यो– बिरामी भएको भए यही सदरमुकामतिर ल्याउथे होला तर ………।

हो, २०५५ चैत १७ गतेको यो अनिष्ट खबरसँगै मैले ‘बुवा’ भनेर बोलाउन कहिल्यै पाइनँ र पाउने पनि छैन । सामाजिक सञ्जालहरुमा बुवाको मुख हेर्ने दिनको चर्चा भइरहँदा मलाई १६ बर्षअघिको त्यो क्षणको याद आइरहेको छ । त्यसपछि आँसु पिएर हामीले कस्ता उतारचढावपूर्ण जीवन बितायौं, मेरी आमा र मलाइभन्दा सायद निकै कमलाई मात्र जानकारी छ । खैर, यी जीवन भोगाइका अनिवार्य पाटा थिए, जो मैले चुक्ता गर्नैपर्ने कोटा ।

अहिले सम्झदा निकै आश्चर्य लाग्छ– कसरी सामना गरे हुँला ती दिनहरु । मेरो एसएलसी परीक्षा आउनुभन्दा १४ दिनअघि बुवाको देहान्त भएको छ तर मैले जसरी हुन्छ एसएसलसी दिनैपर्ने छ । त्यो मेरो मात्र होइन विद्यालयको पनि प्रतिष्ठाको बिषय थियो ।

चार दाजुभाईमध्ये बाहिर रहेका तीनजना दाईलाई बुवाको निधनको जानकारी दिन पनि नसकिएको बेला सम्पूर्ण घरपरिवार मैले धान्नुपर्ने छ । बुवाले कारेको पैसा लिनेहरुको घुइँचो लाग्थ्यो तर दिने कोही पनि आउँदैन्थे तर मैले त्यो ऋण तिर्नैपथ्र्यो । दुई दाजु भारतमा तर उनका परिवारको हेरचाह गर्ने जिम्मा मेरी आमा र मेरो नै थियो । तर, पनि यी सब चुनौति मैले सामना गर्नैपथ्र्यो ।

जीवनका सारा सपना त्यागेर घरपरिवार सम्हाल्नतिर लागें । पढाइ र परिवारमा परिवार नै रोजें किनकि त्यो बुवाको इज्जत प्रतिष्ठासँग जोडिएको थियो । अझै थाहा छैन मलाई त्यो ठीक गरें वा गलत ? तर, यो चाही भन्नसक्छु, त्यही संघर्षको डेढ दशकले मलाई मानवीय मूल्य चिन्न सिकायो । देश र समाज चिन्न सिकायो ।

यो बीचमा थोरै थोरै भए पनि मजदूरीदेखि ब्यापारसम्म, शिक्षणदेखि राजनीतिसम्म, शान्तिदेखि युद्धसम्म, सरकारी काँडेतारदेखि लाल आधार इलाकाभित्रका विविध जिम्मेवारीमा रहेर अनुभव लिने अवसर प्राप्त भयो ।

यी सब मैले समाजमा मेरो बुवाको प्रतिनिधिको रुपमा गरेको मेरो बुझाइ हो । जतिबेला लामो मेहनतपछि घरपरिवार थोरै सम्हालियो, भारतमा अलमलिनुभएका दाईहरु घर फर्कनुभयो र बुवाको बिडो थामिदिनुभयो अनि म घर, गाउँ र जिल्लाबाट थोरै बाहिर निस्केर पत्रकारिताको माध्यमबाट समाजका बिबिध पाटापक्ष केलाउने मौका पाएँ ।

एसएलसी परीक्षा दिएपछि मात्र बस चढेको यो टिठोलाई रुकुमको गाउँबाट उठाएर दाङ र राजधानीसम्म पु¥याइ, उच्च शिक्षाको पाइलामा प्रवेश गराउने अनि देश र दुनियाँ देखाइदिने साइला दाइको उल्लेखनीय भूमिका छ । निरन्तर समाज सेवामा समर्पित बुवाको प्रेरणाले होला अहिले पनि समाजका लागि केही न केही गरिरहुँजस्तो लाग्छ ।

टाढाका गाउँसम्म पुगेर मुद्दामामिला हेरी गरीबलाई न्याय दिनेदेखि बिबिध खाले जनचेतना जगाएर समाजलाई जुरुक्क उठाउन सफल मेरो बुवा साँच्चिकै त्यो बेलाको चेतनाअनुसार ठूलो समाजसेवी हुनुहुँदो रहेछ भन्ने आज मलाई बोध भइरहेछ । कति सकिन्छ थाहा छैन म आफूलाई समाज सेवामै समर्पित गर्न चाहन्छु । धेरैले बुवाको सम्झना गरिरहँदा यो सानो भए पनि मेरो प्रतिबद्धता हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *