बादलमाथिको गुराँसे यात्रा

12‘ओहो खर्साङ !’
‘होइन खौला’
झापाबाट रुकुम हेर्न पहिलोपटक आएका प्रकाश शर्माको शब्द भूइँमा खस्न नपाउँदै मैले फर्काएँ । रातको साढे ९ बज्दै थियो । सल्यानको भू–भाग सकिनैलाग्दा थोरै उकालो काटेपछि एउटा सहिद गेट भेटियो । गाडीले गेट क्रस गर्न नपाउँदै देखियो चारैतिर उज्यालो । गाडी चालक पनि मोहित भएछन् क्यारे, गाडी सुस्त गरे अनि चारैतिर नियाल्न थाले । आकाशमा ताराहरु चम्किरहेका थिए । आकाश र धर्ती दुबैमा उत्तिकै चम्कन । ‘रुकुम उज्यालो भन्थे, साँच्चिकै उज्यालो रहेछ’– रुकुम हेर्ने एक मात्र उद्देश्य लिएर झापाको भद्रपुरबाट जहाजमा काठमाडौं र त्यहाँबाट जहाजमा भैरहवा हुँदै दाङबाट हामीसँगै सानो गाडीमा हुइकिरहेका झापाली प्रकाशले झल्यास्स भारतको खर्साङ सम्झेछन् । सल्यानको अन्धकार बस्तीबाट रुकुम प्रवेश गरेसँगै उनको पहिलो शब्द थियो– ‘ओहो खर्साङ !’ उनको झापाबाट हेर्दा भारतको खर्साङ यस्तै उज्यालो देखिन्छ रे, जुन नेपालमा विद्युत आउनुभन्दा १ सय २० बर्ष पहिले बेलायतले बनाइदिएको रे ! त्यसो त दिउँसो पनि यहाँबाट कम सुन्दर देखिदैन रुकुम । यो ठाउँबाट पुथादेखि सिस्ने हिमालको मजा लिन पाइन्छ । खौला हुँदै झुल्नेटा पुगेर हिमालको काखमा भेरी नदी बगेको अनि देब्रे सिरानी लगाएर सुतिरहेको रुकुमको बस्ती हेर्न निकै आनन्द आउँछ । रातको समयमा पनि यस्तै आनन्द आउँदो रहेछ यहाँबाट रुकुम हेर्न ।

छोटो तर रमणीय बन्यो यसपटकको रुकुम यात्रा । आफ्नै जिल्लाको यात्रा गर्न पनि साइत जुराउनुपर्ने बाध्यता छ । यसपटक चार दिनको यात्रा पनि त्यसरी नै जुरेको हो । एक दिन नयाँ बर्ष, एक दिन साप्ताहिक बिदा, त्यसमा थप दुई दिन मात्र बिदा लिएर शुरु गरिएको चार दिने यात्रामा जिल्लाका १२ गाविसमा पाइला टेकियो । गाडी र पैदलभन्दा बढी मनको यात्रा रमाइलो हुन्छ रुकुम छिर्दा । ज्यान घिस्रिरहेको हुन्छ तर मन दौडिरहेको हुन्छ यहाँ पुग्दा । गावैपिच्छे फरक कथा बोकेर बसेको छ रुकुम । द्वन्द्वले जलाएको खाराको खरानी टेक्दै शुरु हुने रुकुम यात्रा सानीभेरीको तीरहुँदै सिस्नेको काखसम्म पुग्दा इतिहास, भूगोल हर हिसाबले रोचक लाग्छ धेरैका लागि । यता हे¥यो, खोतली नसक्नु छन् जन–जनका जर्जर पीडाहरु । उता हे¥यो कहिनसक्नु छन्, रमणीय सुन्दर गाउँहरु । धेरैलाई लाग्दो हो, रुकुम भनेको मुसीकोट हो तर मुसीकोट छाडेपछि बल्ल शुरु हुन्छ वास्तविक रुकुम । ढकमक्क फुलेर पनि मायालुहरुले बाँड्न नपाएको गुलाबको फूलजस्तै छ विकटताले च्यापिएको रुकुम । ‘बयान गरिसाध्य नहुने यो सुन्दरता बिदेशी पाहुनाले चुम्न पाए, कहाँ पुग्थ्यो होला यहाँको समृद्धि ?’ रुकुम पुग्ने जोकोहीले एकपटक सोध्ने प्रश्न हो यो ।

13पहिलो दिनको यात्रा मुसीकोटसम्म पुगेर टुंगिएपछि शुरु भयो दोस्रो दिनको यात्रा । दोस्रो दिनको यात्रा मेरो आफ्नै जन्मगाउँतिर सोझ्याउनु थियो । अझ भनुँ, म पहिलोपटक मोटर चढेर मेरो गाविस छिर्दै थिएँ । पूर्वमन्त्री, सभासद्देखि जिल्लास्थित सबै दलका नेता र सरकारी अधिकारीहरुसहित हामी लाग्यौं, चौखाबाङको यात्रामा । कुनै दिन तन्तनी दाउरा र पीठो बोकेर पसिना पुछ्दै छिचोल्ने सालघारीको उकालो (गाउँतिर जाँदा ओरालो) मा आज दर्जन बढी गाडीहरु लाम लागेका छन् अनि हामी ती गाडीका यात्रु । सालघारीनजिक पुग्दा मैले अनायास विगत सम्झन पुगें र यात्रारत सबैलाई सुनाएँ । तर, मेरो सम्झना त त्यहाँ फितलो भइदिइयो, जहाँ हामीभन्दा कठिन पीडा भोगेको अघिल्लो पुस्ता हामीसँगै थियो । ‘मैले पाँचपटक घोराहीबाट प्वाङसम्म नूनको भारी बोकेको छु, पन्ध्र बीस दिनसम्म लगातार भारी बोक्नुपर्ने दिन अब हामीसँग बाँकी रहेनन्’– सभासद् गणेशमान पुनको सम्झनाले हामी सबैलाई रौस्यायो । आजदेखि अँध्यारोमुक्त बन्दै गरेको मेरो गाउँमा अहिलेसम्म म मोटर चढेर आएको थिइनँ तर दुःखका साथ भन्नुपर्छ यो बाटो गाविस कार्यालयभन्दा अघि बढ्न सकेको छैन । बाटो खन्न शुरु भएको डेढ दशक पुग्न थाल्दा पनि पूरा भएको छैन ।

मनभरि पूर्वी रुकुमको तस्विर सजाएर बसिरहेको बेला साँझ ५ बजेतिर मित्र कुलदीप न्यौपानेको फोन आयो । आफ्नो व्यवसायको सिलसिलामा नियमित रुकुम यात्रामा निस्कने कुलदीप र म यो कार्यक्रमपछि मोटरसाइकलबाटै पूर्वी रुकुमतिर हानिने योजना दाङमै बनेको थियो । त्यसैअनुरुप हामी साँझ ६ बजे लाग्यौं रुकुमकोटतर्फ । होल्ताराबाट म पढेको झुल्खेत स्कूल हुँदै ठाराढुंगा निस्केर साँख पुग्दा मौसमको गडबडी शुरु भइसकेको थियो तर भेटिदै थिए, एकपछि अर्को प्रकृतिका नयाँ–नयाँ उपहार ।

भण्डारीकाँडाको डाँडाबाट देखिने मुसीकोटसहित सानीभेरीको दृश्यले आज यतै बसेर हामीलाई नियाल भन्दै थियो । थोरै अगाडि बढ्दा भेटियो साँखको दह । सानो चिटिक्क परेको निकै सुन्दर छ यो दह । यो दहमा रुखहरुले डुबुल्की मारेको दृश्य हेर्न घाम लाग्नुपर्छ तर हामीसँग मौसमअनुकूल थिएन । हरेक माघ १५ गते मगर संस्कृतिमा आधारित ‘पापिनी बिहे’ को मेला लाग्छ । दहको सिरान हुँदै मध्यपहाडी लोकमार्ग छिरेपछि साँख गाउँको मुहार नै फेरिसकेको छ हिजोआज ।

14

समय त थियो तर साँखको डाँडा काट्दानकाट्दै आकाश रुन थाल्यो । उँचो डाँडाको चिसो सिरेटो, त्यसमा बेमौसमी बर्षात भइदिएपछि के चाहियो र ! मौसम हेर्दा निकै दुःख पाउने लक्षण देखियो तर हामीले यसमा कुनै दुःख मानेनौं बरु चैत÷बैशाखको गर्मीमा प्रकृतिले स्वागत गरेको भन्दै झरीमा रमाउँदै अघि बढिरह्यौं किनकि यो हाम्रो रहरको यात्रा थियो । प्रकृतिसँग लुकामारी गर्दै ‘न्यू इयर’ मनाउने यो हाम्रो पर्यकटीय यात्रा थियो । चौखाबाङबाट गुड्न शुरु गरेको ठीक दुई घण्टामै हाम्रो यात्रा रुकुमकोटमा पुग्यो । मैले मेरो गाउँबाट दुई घण्टामा रुकुमकोट पुगिन्छ होला भनेर कल्पनासमेत गरेको थिइनँ । अनि भन्नैप¥यो धन्य, मध्यपहाडी लोकमार्ग ! रुकुम खण्डमा मात्र १ सय ३४ किलोमिटर रहेको यो सडक रुकुमको मेरुदण्ड बन्दैछ ।

झरीसँगको यात्राले लखतरान हामी त्यस रात रुकुमकोटमै सुत्यौं । तेस्रो दिनको यात्रा अझ रोचक थियो मेरा लागि । पूर्वी रुकुमको मोटरयात्रा पहिलो थियो नै, काँक्री गाविसभन्दा पूर्वतिर म जीवनमा गएकै थिइनँ । अब बिस्तारै म अलमलमा पर्न थालें, कहाँनेर कुन गाउँ पर्छ । रुकुम घर भएर पनि रुकुमको भूगोलबारे रुकुमभन्दा बाहिर घर भएकासँग जानकारी लिनु अब मेरो बाध्यता भइसक्यो । ‘प्रवासीहरुका लागि लोकेसन देखाउने हामी छौं नि !’– मोटर हाँक्दै दृश्य देखाउँदै कुलदीपजीबाट झटारो आयो । बर्षातसँगै शुरु भएको तेस्रो दिनको यात्रा झरिसँगै अघि बढिरह्यो । यात्रा अघि बढ्दै थियो, नयाँ–नयाँ दृश्यले हामीलाई पछाडि फर्कन भन्दै थिए । विद्युत उत्पादनका लागि खोलाहरुमा गाउँ–गाउँबाट गाउँले ओइरिरहेका देखिन्थे । कुनै बेला हेलिकोप्टरबाट डोजर खसालेर बाटो खनिएको काँक्रीमा पुग्यौं हामी । यहाँका गाउँले पनि विद्युत उत्पादनमै केन्द्रित थिए । आजभोलि रुकुमका गाउँ–गाउँमा बिजुली निकाल्ने ठूलो प्रतिष्पर्धा चलेको छ । कसैले बिजुली बालिसकेका छन्, कोही बाल्ने तरखरमा त कोही कुलो खन्दै छन् ।

15

काँक्रीबाट मध्यपहाडी लोकमार्ग छाडेर शुरु भयो तकसेराको यात्रा । उचाइ चढ्दै जाँदा यति माथि पुगिएछ– हामी माथि, बादल तल । अर्कै संसारमा पुगेजस्तो उकुसमुकुस पो हुन थाल्यो । रिकाको लेकमा पुगेपछि त जताततै सुन्दरता नै सुन्दरता । रिका पुगेर लालीगुराँसको घना जंगलभित्र हराउँदाको मज्जा सायद कमैले लिन पाउँछन् । लहरै हिमश्रृंखलाको आनन्द लिन बिदेशी पर्यटकहरु यहाँ पुग्न थालिसकेका रहेछन् । डोल्पा र म्याग्दीको बाटो हुँदै आउने पर्यटकहरुले पूर्वी रुकुममा डेरा जमाउन थालिसकेका छन् । आज चैत सकिदैछ, भोलिदेखि बैशाख लाग्दैछ तर पनि रिकाको लेकमा फुस्स–फुस्स हिउँ पो पर्न थाल्यो । बैशाखमा हिउँ पर्ने रिकामा फागुनमा फुलेको लालीगुराँस अहिलेसम्म जस्ताको तस्तै । देशी बिदेशी पर्यटक कुरेर बसेका छन् यहाँका दृश्यहरु ।

नजिकै भेडीगोठालाहरुले पालमुनि राखेका कुकुर जंगलै थर्काउने गरी घ्वाङ–घ्वाङ गरिरहेका छन्, मानौं यी कुकुर भेडाहरुको मात्र होइन यो जंगल र यहाँ पुग्ने पर्यटकहरुको सुरक्षामा तैनाथ गरिएका पालेहरु हुन् । आसपासका जंगलमा बथानका बथान भेडा चर्दैछन् । बैशाखे हिमपातले हिलाम्य बनेको सडक छिचोल्दै हामी लाग्यौं– काँक्रीबाट कोलतर्फ । बाटोबाटै देखिने कोलको बस्तीले निकै आनन्द दिन्छ यहाँ पुग्नेहरुलाई । खेतीयोग्य जमीन एक ठाउँमा र मानिसको बस्ती फरक ठाउँमा गरेर मिलाइएको यहाँको बस्ती बिकास थप आकर्षण हो यहाँको । कोल सकिएपछि तल्लो सेरा, उपल्लो सेरा हुँदै तकसेरा पुग्दा हामी पूरै मगर संस्कृतिभित्र हराइसकेका थियौं । देशभित्रै लुकेको आदिम परम्परा र संस्कृतिसँग साक्षात गर्नु चानचुने अवसर थिएन हाम्रो लागि ।

भोलि नयाँ बर्ष– सँगै शुरु हुँदैछ जनजाति महोत्सव । खासमा तकसेरा पुग्ने हाम्रो बहाना बनेको थियो यही महोत्सव । तसकेरा पुगेसँगै जीवनमा एउटा आनन्द प्राप्त भएको महसुस भयो । रुकुमै जन्मेर पनि रुकुमका यति सुन्दर भू–भागमा पुग्न नसक्नुको पीडा आज सकिएको छ । महोत्सवस्थलमा बाहिरबाट पुग्ने पहिलो पाहुना हामी नै परेछौं । महोत्सव संयोजक पहलसिंह घर्तीसँग भलाकुसारीपछि हामी लाग्यौं– एउटा होमस्टेतर्फ । पूरै निर्दोष, पवित्र र गाउँले शैलीको होमस्टेको स्वागत साँच्चिकै हाम्रो लागि नयाँ थियो नै, यो भोलिको पर्यटन विकासको अभ्यास पनि । हामी बसेकै होमस्टेमा विदेशी पर्यटकको एउटा जोडी पनि रहेछ । यहाँको हर गतिबिधि हाम्रै लागि रोचक थिए भने बिदेशीका लागि त अझ नहुने कुरै भएन । नेपालमा आफूहरु घुमेको ठाउँमध्येकै सुन्दर ठाउँ रुकुम लागेको बताउँदै थियो यो जोडी ।

तेस्रो दिनको महोत्सवमय बिहानीले निकै आकर्षण थपिरहेको छ, सुन्दर बस्ती तकसेरामा । हामीलाई घरबेटीबाट खबर आयो– तपाइहरुले एक घण्टाका लागि यो कोठा छाडिदिनुप¥यो, प्रधानमन्त्री आराम गर्न आउने रे ! ‘हामी त गतिलै ठाउँमा पो बसेका रहेछौं त’– केहीबेर ठट्टा पनि चल्यो । तर, आराम गर्नुभन्दा जनजाति झाँकी हेर्न नै समय दिने भनेर प्रधानमन्त्री आराम गर्न आएनन् । हुँदा–हुँदा प्रधानमन्त्रीलाई भनेर तयार पारिएको गुन्द्रुक र ढिंडो पनि हाम्रै भागमा आइलाग्यो । हाम्रो यात्रा समय छोटिदै थियो । अझै केही गन्तव्यमा पुग्न बाँकी थियो । महोत्सवस्थलमा हेलिकोप्टरहरुको आवतजावत चल्दै थियो, हामी लाग्यौं, तकसेराको बाछीगाउँ र कोलको बिर्गुमतर्फ । बिर्गुमको सानो दह र तामाखानी निकै प्रख्यात छन् ।

भारतको कोइलाबास–लमही–घोराही–सहिदमार्ग–महत–काँक्री–तकसेरा हुँदै डोल्पाको शहरताराबाट चीनको मरिमसम्म जोड्ने कल्पना गरिएको सडक यही बिर्गुसम्म पुगेकाले हामी पनि त्यहीबाट फर्कनुको विकल्प रहेन । त्यहाँबाट हुइकिएर रिकाको लेकमुनि हिलो सोहर्दै फेरि बाँकी रहेको गुराँसे जंगलमा शयर गर्दै द्वन्द्वले घायल भएको महत गाउँमा बास बस्न पुग्यौं । त्यहीबाट थबाङलाई छड्के सलाम ठोक्दै, लावारिसे बनेको लाबाङको लामो तस्विर लिंदै, द्वन्द्वको दर्द बिर्सन थालेको महतको मुस्कान बोकेर रोल्पा, रुकुम र सल्यानलाई बाइबाइ गर्दै लाग्यौं घोराहीतर्फको यात्रामा । छोटो र मीठो यो यात्राले राप्तीको नयाँ पर्यटकीय गुरुयोजना मनमा सजाइदिएको छ । यसले दाङबाट सल्यान–रुकुम–रोल्पा–प्युठान हुँदै पुनः दाङ झर्ने छोटो दूरीको पर्यटकीय नक्शा दिमागमा टाँगिदिएको छ ।

for contact: 9857832636, Email: news.narendra@gmail.com

One thought on “बादलमाथिको गुराँसे यात्रा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>