टनेलमाथि उभिएर…


लामा–लामा खाडलमा छरपस्टै घाँस उम्रिएका छन् । जता हे¥यो उतै रमणीय डाँडाकाँडा मात्र । प्राकृतिकरुपमा रमणीय देखिए पनि लाग्छ– यी डाँडाहरुले केही खोजिरहेका छन् । केही गुमाएजस्तो, केही नभेटाएजस्तो । अग्ला–अग्ला धुपीका रुखउस्तै छन् । एकनाश मिलेका खर्सुका बोट उस्तै छन्, मानौं तिनीहरुको केस्रा–केस्रा मिलाउन कुनै नाइ कैंची बोकेर बसेको छ । सब कुरा उस्तै छन् तर यी खाडल भने विस्तारै पुरिन थालेछन् । कैयौंले कैयौं रात बिताएका यी खाडलहरु अचेल एक्लै रहेछन् । यहाँ पुग्ने नयाँ मान्छेका लागि नयाँ लाग्ने यी खाडलहरु सिर्फ खाडल मात्र होइनन् । कोही नागबेली छन्, कोही गोलो घेरामा छन् त कोही निकै लामा–लामा । वल्लो डाँडाको दुलोबाट पसेपछि बाहिरी संसार नदेखी पल्लो डाँडामा पुगिने यी सुरुङहरु केटाकेटीलाई लुकामारी गर्न बनाइएका खाडल होइनन् । यी खाडल निश्चित सपनासँग जोडिएका खाडल हुन् । इतिहाससँग जोडिएका खाडल हुन् ।

टिलाडाँडा भनेर चिनिने यो ऐतिहासिक लेक आफैंमा रमणीय छ । शहर सदरमुकामको नजिक हुँदो हो त उहिल्यै पर्यटकीय स्थल बनिसक्ने थियो । पूर्वोत्तरमा घुम्म बादल ओढेर तीनबैनी लेक उभिइरहेछ । त्यसैको आडमा चुनवाङ चूपचाप निदाइरहेको छ, पेटभरि दूध खान नपाएर रु“ँदारुँदै आमाकै काखमा निदाइरहेको बच्चाजस्तै । थोरै उक्लिएर तीनबैनी लेकमा पुगेपछि विविधताको दुनियाँमा नरमाउने को पो होला र ! पूर्व हे¥यो पूर्वी रुकुम, पश्चिम हे¥यो पश्चिम रुकुम । उत्तर हे¥यो उहिलेको सदरमुकाम रुकुमकोट, दक्षिण हे¥यो ऐतिहासिक र चर्चितगाउ“ चुनवाङ । तनक्क तन्केर पश्चिम फर्कदा उहिलेको ‘पुरानो सत्ता’ सर्लक्क देखिन्छ । काँडेतारभित्र अल्झेको, रुग्ण र खण्डहर बन्दै गएको ‘पुरानो सत्ता’ अचेल त रंगीबिरंगी पो भएको छ । काँडेतार त उहिल्यै हटेका हुन् । ‘पुरानो सत्ता’का महिमा गाउनेहरु त्यहीं बसेका छन्, ‘नया“ सत्ता’का गीत लेख्नेहरु पनि त्यतै पसेका छन् । हिजो आमनेसामने गोलीको लडाइँमा रहेका यी ‘नया“ र पुरानो सत्ता’बीच आज बोलीको लडाइँ चलेको छ । हिजो ‘बुलेट’को लडाइँ लड्नेहरु आज ‘ब्यालेट’को लडाइ“मा छन् । म भने घोरिइरहेछु यी टनेलमाथि उभिएर अनि दाँजिरहेछु इतिहास र वर्तमान । उहिलेका टनेल र बुलेट अनि अहिलेका खाडल र ब्यालेट । परिवेश फेरिएको छ र फेरिएको छ बाटो पनि । तर, सपना कहिल्यै फेरिन दिने छैनन्, यी रक्तरञ्जित डाँडाकाँडाले ।

मलाई राम्ररी थाहा छ टनेल र बुलेटको कथा । उहिले आकाशमा चिलगाडी देख्दा धर्तीका कुखुरा लुकाउन खनिएका खाडल हुन् यी टनेल । म यो ‘टनेलडाँडा’को रैथाने पनि हुँ । परिवर्तनको महासमरमा हिँडेका यात्री जोगाउन खनिएका यी टनेलहरुले कति यात्री जोगाए, त्यो त इतिहासको गर्तमा छ तर यी टनेल बनाउन रैथानेहरुले महिनौं पसिना बगाएको मलाई राम्ररी थाहा छ । टनेल बनाउँदा बगेको पसिना एउटा बिम्ब मात्र हो, पसिना मात्र होइन, यी रैथानेहरुको अनिगिन्ती परिमाणमा रगत बगेको छ । आजैजस्तो लाग्छ, यी टनेलमा चलेका कयौं मोर्चाबन्दी लडाईले हाम्रा बस्तीहरु धेरै रात अनिधो बसेका छन् । नजिकै रहेको फुस्रे पहल मुनिका ओडोर यहाँका युवाक ा लागि सुरक्षित रात बिताउने महल बनेका थिए । कहिल्यै आँखा नओभाउने गरी यहाँ आँसु बगेको छ । कयौंका काख रित्तिएका छन्, सहारा चुँडिएका छन् र अंग छुट्टिएका छन्, सिर्फ त्यही सपनाका लागि । साँच्चिकै यस पटकको दशैं विदा ती सपना उधिन्नमै केन्द्रित रह्यो । घुम्न त कसलाई पो रहर हुँदैन ? तर ‘न काम न फुर्सद’ को पत्रकारिता पेशाले बजारभित्र काँजिएर बस्दा आफ्नै जन्मथलोका यी डाँडाकाँडा पनि बिराना भइसकेछन् । कुनै बेला दैनिकजसो बम बारुदको धुँवा उड्ने यी डाँडा अचेल साँच्चिकै सुनसान भएछन् । यो सन्नाटा सही या गलत ? यसमा पनि बहस छ । तर, यी डाँडाकाँडा र यहाँका रैथानेलाई लाग्दोरहेछ– यो व्यर्थको बहस हो । उनीहरु भन्दा रहेछन– कुन बाटो हिँड्ने त्यो यात्रा गर्नेहरुले तय गर्ने हो तर जुन बाटो गए पनि गन्तव्यमा भने पुग्नुपर्छ । उनीहरु थप्दा रहेछन्– हामीलाई छाड या हामीसँग बस्, त्यो परिवेश र सन्दर्भको कुरा हो तर हामीलाई देखाइएको सपना जसरी नि पूरा गर्नुपर्छ । रक्तरञ्जित वस्तीका रैथानेहरु बारम्बार भन्दारहेछ– शान्ति या युद्ध तिमीले रोज्ने हो, ब्यालेट या बुलेट तिमीले खोज्ने हो तर सपनामाथि घात गर्न पाउँदैनौं ।

यिनीहरुलाई यो पनि राम्ररी थाहा रहेछ– यो यात्रामा कुन बाटो भन्ने बहसले ठूलै क्षति पुगेको छ । यहाँका बस्तीमा केही पाकाहरुसँग रात बिताउन जाँदा थाहा लाग्यो– टुटफूट र विभाजनले निकै पिरोलेको रहेछ यी बस्तीहरुलाई । कानै चिस्याउने डाँडाको चिसो सिरेटोलाई छल्न ठूल्ठूला मुढा अगेनामा जोडेर गफैगफमा रात बिताउन तयार हुने पाकाहरु भन्छन्– ‘मरे सँगै, बाँचे सँगै भनेर कसम खानेहरु अहिले आपसमा लडेको सुन्दा मन भक्कानिएर आउँछ बाबु ।’ साँच्चिकै त्यही सपनाको यात्रामा आफ्ना छोराछोरी नहोमेका, लाउँ–लाउँ र खाउँ–खाउँको उमेरमा पढलेख र घरजम छाडेर छोराछोरी युद्धमा नपठाएका घर नै भेटिदैनन् यहाँ ।

डाँडावारि केही कम भए पनि डाँडापारि चुनवाङको वस्तीमा त्यस्ता घर नै भेटाउन मुस्किल हुन्छ– जसले रगत, आँसु र पसिना नबगाएको होस् । हिजो एउटै थालीमा खाने र एउटै ओछ्यानमा सुत्ने भाइ फाटेकोमा निकै चित्त दुखेको रहेछ यहाँ । ‘भाइ फूटे गवाँर लुटे’ भनेझैं भाइ फाटेको मौका छोपेर हिजोका ‘पराइजन’ आज साख्खै बनेर यहाँ छिर्न खोजिरहेछन् । तर, तिनीहरुप्रति झन् एक रत्ति पनि विश्वास छैन, यहाँका रैथानेहरुलाई । प्रायः रैथानेहरु भन्छन्– ‘हिजो हाम्रै टाउकोमा बम बर्साउन चिलगाडी घुमाउनेहरु आज नयाँ–नयाँ कथा बोकेर यहाँ आइरहेछन्, हामीले किन आयौ पनि भनेका छैनौं जवाफ दिने दिन त मंसिर ४ आउँदै छ ।’

बरु यिनीहरुले ‘पराइजन’ भन्दा ‘आफ्ना’लाई नै ¥याख्¥याख्ती पार्दारहेछन् । यहाँका पूरापूरा वस्तीहरु ब्यालेटकै बाटोमा लाम लाग्ने मनस्थितिमा देखिन्छन् तर ब्यालेटवालालाई कपाली तमसुक गराएर मात्र । बुलेट बिसाएर ब्यालेट माग्न पुगेकालाई प्रायः रैथानेहरु सोध्दारहेछन्– हामीलाई तिमी हिँडेको बाटोमा आपत्ति छैन तर हिँड्दाहिँड्दै बाटोमा किन रोकिन्छौ ? ‘पुरानो सत्ता’ लाई धक्का दिन गएका तिमीहरु त्यही सत्तामा किन हरायौ ? तिमीले बाटो मात्रै फेरेका हौ वा सपना पनि ? डाँडामाथिका टनेल अनि डाँडामुनिका रैथानेले सोध्ने टनेलभन्दा गहिरा प्रश्न ।

उहिल्यै खनिएका खाडलका दृश्य अनि मनभरि सजाइएका सपनाका चाङ । सिंगो दशकभरि चलेको बम बारुदको ‘बुलेट यात्रा’ अनि एकपटक असफल भएर दोस्रोपटक थालिएको ‘ब्यालेट’ यात्रा । इतिहास र वर्तमानको संयोजनबाट निर्मित आकृतिले निरन्तर खबरदारी गरिरहेछ– रक्तमुछेल यी डाँडाकाँडा र रैथानेहरुले सजाएका सपनामाथि घात नहोस् । उज्यालो पाउने शर्तमा रगतको भेटी चढाएका यी गाउँवस्तीमा सधैं औंशीको रात नहोस् । आफ्नै गाउँको सिरानीमा भएर पनि बर्षौंपछि पुगिएको यो ऐतिहासिक टिलाडाँडाको लेक र आसपासका बस्तीले यस्तै खबरदारी गरेको अनुभूति भयो मलाई यसपटक ।

2 thoughts on “टनेलमाथि उभिएर…

  1. अाफ्नो बस्तिको बिगत कोट्याएर हामिकहाँ पस्कनुभाको मा यहाँलाइ सहृदय धन्यवाद धेरेे चाह का साथ पढ़े मलाइ एकदम खुशि लाग्यो—-

Leave a Reply to Charwrern Cancel reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>