थवाङसँगको पहिलो भेट र मेरो पत्रकारिता

समय वित्न पनि के बेर लाग्दोरहेछ र ? हिजोजस्तै लाग्छ त्यो क्षण, जतिबेला मुलुक संकटकालको कालरात्रीमा थियो । पत्रकारितामा प्रवेश गरेको बल्लतल्ल तीन वर्ष पुग्दै थियो । द्वन्द्वग्रस्त क्षेत्र रुकुमको संवाददाताको जिम्मा पाएपनि नेपाल समाचारपत्रमा फ्रन्टपेजमा समाचार छाप्ने मेरो सौख अझै पूरा भएको थिएन । त्यो सौख पूरा म कुनै ‘स्कूप’ को पर्खाइमा थिए । २०६० पुस २३ गतेको कुरा हो, एउटा पत्र आयो मेरो हातमा । पत्रकारिता र अध्ययनको सिलसिलामा म सदरमुकाम खलंगाको काँडेतारभित्र थिएँ तर पत्र आयो काँडेतारबाहिरबाट । अझ भनौं भने काँडेतारभित्रकाले त्यो पत्रको सुइकोसम्म पाए पनि ठूलै अनिष्ट हुनेवाला थियो । एक जना मेरा परिचित सामान्य मान्छेले त्यो पत्र लुकाएर ल्याएका थिए । पत्रमा लेखिएको थियो, ‘केही दिनभित्रै कतै बिशाल कार्यक्रम हुँदैछ, तपाई भोलि २४ गतेसाँझसम्म महत (खलंगाबाट एक दिन टाढा) पुग्नुहोला ।’ मैले त त्यो पत्र पाउनेवित्तिकै के के सोच्न थालेछु । एकातिर मैले सोचिरहेको ‘स्कूप’ मार्ने संभावनाप्रति म हौसिरहेको थिएँ भने अर्कोतिर सोच्दै थिएँ, ‘कतै सरकारी मान्छेहरुले थाहा पाए भने मबाटै त्यो कार्यक्रमको बारेमा एक्सपोज भएको शंका गरिने त होइन ?’ तर त्यतिबेलासम्म मलाई पनि थाहा थिएन त्यो के कार्यक्रम हो र कहाँ हुँदैछ ? त्यति सोचेर त्यो पत्रको कुनै अक्षर नबुझिने गरी चपाएर फ्याँकिदिएँ र पत्र ल्याउने मित्रलाई धन्यवाद दिएँ । पत्रकारिता साँच्चिकै कस्तो नशा हुँदो रहेछ ? जोखिम भन्ने कुरा त सामान्य लाग्ने । बमगोलाकै बीचमा रुकुमका पाखापखेरीमा त्यसअघि नै ८ वर्ष बिताइसकेकाले पनि होला, द्वन्द्वको बीचमा खेल्नु सामान्य जस्तै लाग्न थालेको थियो । त्यसमा फेरि समाचारमा स्कूप मार्ने पत्रकारिताको नशा लागेपछि डर त कति कोश टाढा भाग्दो रहेछ पत्तै भएन । त्यसो त गोठाला र घाँस दाउरा जाँदा तल बेसीमा एकथरि वर्दीधारी र माथि डाँडामा अर्कोथरि वर्दीधारी हिडिरहेको बेलामा बीचमा बसेर पनि बाँच्न जानेकै थियौं । कतिचोटि त ढुंगाको कापमा बसेर पनि गोली छलेका सम्झना मसँग ताजै थिए । रोल्पाको पाछावाङ सुपेकुनामा भएको भिडन्त (जहाँ जनसेनाका तत्कालीन बटालियन कमिसार विवेक क्षेत्री मारिएका थिए) को क्रममा हामीले निकै नजिकबाट नियालेको संम्झना पनि त्यतिबेला आयो । ती सबै जोखिमलाई विर्सेर मैले महत पुग्ने योजना बनाएँ र सदरमुकामबाट हिंडे । २३ गतेको साँझ चौखावाङ– ९ गलम्पाटीस्थित घरमा पुगेर मैले कार्यक्रम भएकाले अलि टाढै जान थालेको बताए । साथी एवं दाइ चुनीलाल केसीलाई साथमा लिएर म २४ गते विहानै पूर्वी रुकुमतिर हानिएँ । त्यसअघि अन्य कामले तीनबैनीको लेक हुँदै ओरालाखोलासम्म गएको भए पनि त्यसभन्दा पूर्वतिरको यात्रा भने मेरा लागि नयाँ थियो । चुनवाङको लेक तीनबैनी धुरी, ओरालखोला, कुचीवाङ हुदै महत दुमैसम्म पुगियो । महतको उकालो काटिसक्दा साझ ढल्किसकेका थियो । त्यहाँ जाँदा लाग्यो कार्यक्रम यही रहेछ । नजिकैको चउरमा जनताको भिड लागिसकेको थियो भने चारैतिरका गाउँहरुबाट आउने क्रम जारी थियो । हामीलाई पनि महतकै सम्पर्क दिइएको थियो । हामी दुबै जना त्यही रोकियौं र चिनेका मान्छे खोज्न थाल्यौं । उता जनयुद्धभित्र रहेर पत्रकारिता गरिरहनुभएका र रेडियो जनगणतन्त्र विशेष क्षेत्रीय प्रसारण सेवाका तत्कालीन स्टेशन निर्देशक सचिन रोकाले पनि मेरो प्रतीक्षा गरिरहनुभएको रहेछ । मलाई देखेपछि उहाँ अत्यन्त हर्षित हुनुभयो र महतमै बस्ने व्यवस्था गरिएको तर कार्यक्रम अलि टाढा भएको बताउनुभयो । महतबाट गुनाम हुँदै थवाङ पुग्ने बेला बाटोमा थुप्रै नेताहरुसँग भेटघाट र कुराकानी भयो । विशेषतः रुकुमका नेताहरु शरुण बाँठा मगर र गणेशमान पुनसँग भावी नयाँ रुकुम कसरी र कस्तो बनाउने भन्नेबारे निकै राम्रो गफगाफ भयो । हामी जहाँ र जुन क्षेत्रमा भए पनि जिल्लाको विकासका लागि योगदान पु¥याउनुपर्छ भन्ने नै हाम्रो कुराकानीको मुख्य सार थियो । हामी थवाङ पुग्दा ११ बजिसकेको थियो र थवाङबजार भन्दा वाल्लोपट्टी रहेको ठूलो प्रांगण (स्कूलभन्दा तल) मा झण्डै २० हजार जनता जम्मा भइसकेका थिए । चारैतिरबाट बाजागाजासहित जनताको लस्कर आइरहेको थियो । एकातिर संकटकाल त्यसमा पनि थुप्रै नेताको टाउकोको मूल्य तोकिएको स्थिति । तिनै बहुमूल्य टाउकाधारी नेताहरुलाई हेर्न हजारौं जनता बाजागाजासहित आइरहेका थिए । एक जना नेता भन्दै थिए, ‘यही त हो नेपाली क्रान्तिको मौलिक विशेषता अर्थात प्रचण्डपथ’ । जनताको भीड बढ्दै गयो । झण्डै २ बजेसम्म त्यहाँ ५० हजार भन्दा बढी जनमास उपस्थित भइसकेको थियो । म पत्रकारितामा प्रवेश गरेदेखि रोल्पा रुकुमका वस्तीमा यति ठूलो जनसहभागितासहितको सभा देखेको पनि त्यो पहिलो थियो । त्यतिबेलासम्म त्यो कुन कार्यक्रम हो भन्नेसम्म कसैलाई सोध्न पाइएको थिएन । पछि थाहा भयो– त्यो माओवादीले नेपालमै पहिलोपटक गठन गरेको मगरात स्वायत्त प्रदेशको जनसरकारको घोषणासभा रहेछ । समानान्तर सत्ताकै रुपमा भए पनि नेपाली इतिहासमा त्यो नितान्त नौलो प्रयोग थियो । अहिले देशले संविधानसभाको निर्वाचन सम्पन्न गरिसकेको छ र अब राज्यको पुर्नसंरचनातर्फ अघि बढेको छ । अब मुख्य सत्तारुढ बन्न थालेको नेकपा माओवादीले भने आजभन्दा ५ वर्षअघि नै राज्यको पुनर्संरचनाको अभ्यास थालिसकेको थियो । केन्द्रिकृत सामन्ती राजतन्त्रात्मक संसदीय व्यवस्थाको अन्त्य गरी संघीय लोकतान्त्रिक गणन्त्रात्मक व्यवस्था स्थापनाको त्यो अभ्यास स्वायत्त प्रदेशहरु घोषणा गरेर माओवादीले त्यतिबेला देखि नै थालिसकेको थियो । यद्यपि अहिले सबै दलहरु त्यही दिशातिर अघि बढिरहेका छन् र बहुसंख्यक नेपाली जनताले माओवादीको त्यो एजेण्डालाई निर्वाचनमार्फत अनुमोदन गरिसकेका छन् । विशेषतः २०५६ सालदेखि गाउँका प्रहरी चौकीहरु विस्थापित भएपछि गाउँमा सत्ता शून्यताको स्थिति देखिएको थियो र त्यसलाई पूर्ति गर्न नेकपा माओवादी गाउँस्तरमा गाउँ जनसरकारहरु गठन गर्न थालिसकेकेको थियो । २०५७ सालदेखि जिल्ला जनसरकार गठन प्रक्रिया पनि शुरु भएको थियो । उल्लेखनीय कुरा के थियो भने २०५७ साल पुस ५ गते नेपालमै पहिलोपटक रुकुमको बाफीकोटमा रुकुम जिल्ला जनसरकारको घोषणा गरिएको थियो र राजधानीबाट समेत पत्रकारहरु बोलाइएको थियो । प्रसंग फेरि थवाङतिरै लैजाऔं, २०६० पुस २५ को थवाङमा भएको स्वायत्त प्रदेशको घोषणा पनि त्यो देशभरकै पहिलो थियो । त्यसपछि भेरी–कर्णाली हुँदै विभिन्न स्वायत्त प्रदेशहरुको घोषणा भयो । त्यो दिन मेरो पत्रकारिताका लागि पहिलो स्कूप मार्ने गतिलो अवसर त थियो नै नेपालको राज्य पुनर्संरचनाका हिसाबले पनि नयाँ बहसको थालनी थियो । कार्यक्रम शुरु हुनुअघिका सयौं सांस्कृतिक झाँकीहरु, विभिन्न सांस्कृतिक परिवारका प्रस्तुति निकै रोचक थिए । तर मेरा लागि भने सबैभन्दा आकर्षण जनमुक्ति सेनाका कमाण्डरहरुले लगाएको लोभलाग्दो यूनिफर्म नै थियो । जनसेनाका कमाण्डरहरु नन्दकिशोर पुन ‘पासाङ’, चन्द्र खनाल ‘बलदेव’लगायतलाई मैले पहिलोपटक देख्दै थिएँ । तत्कालीन शाही सेनाका कमाण्डरहरुले लगाएको यूनिफर्म जस्तै लाग्ने जनसेनाका कमाण्डहरुको यूनिफर्म देखेर म निकै आकर्षित भएँ । जनसेना देखेको भए पनि अत्याधुनिक हतियार, सञ्चार सेट र आकर्षण यूनिफर्ममा जनसेनाका कमाण्डहरुलाई देखेको त्यो पहिलोचोटि थियो । जति आकर्षक दृश्य देखे पनि जस्ताको तस्तै उतार्नु मेरा लागि चुनौतीको विषय थियो । त्यसमा धेरै कारणहरु थिए । एउटा त मसँग अहिलेको जस्तो डिजिटल क्यामेरा थिएन । भएको सानो स्टील क्यामेराबाट सके जति पोज त हानियो तर कति जल्ने हुन् कति राम्रा आउने हुन् केही थाहा थिएन । अर्को कारण थियो, मसँग रहेको कलाको अभाव । कुन कुरालाई कुन कोणबाट लेख्दा समाचार बन्छ भन्ने राम्रोसँग मैले जानिसकेको थिइन । अनि अर्को कारण थियो, जनसेनाका कमाण्डहरुको सुरक्षालगायतका प्राविधिक पक्ष । तर पनि सबै चुनौतीहरुलाई व्यहोर्न तयार रहेर पाए जति र मेरो क्यामेराले साथ दिए जति फोटोहरु लिएँ । मलाई पत्रकारिताकै जीवनमा यो कुराको गर्व छ कि जनसेनामा सर्वोच्च कमाण्डर प्रचण्ड पछिका दोस्रो कमाण्डर रहेका पासाङको तस्वीर पहिलोपटक मैले नै सार्वजनिक गरें । भर्खरै पत्रकारितामा प्रवेश गर्दै गरेको एउटा सिकारु भनौं नवप्रवेशी पत्रकारका लागि त्यो ठूलो स्कूप थियो । मैले खिचेको पासाङको त्यो फोटो हिमाल खबर पत्रिकामार्फत पहिलोपटक सार्वजनिक भयो र पछि पनि लामो समयसम्म पासाङको फोटो प्रयोग गर्नुपर्दा अन्य पत्रिकाले समेत त्यही त्यतिबेला माओवादी जनसेनाहरुले सञ्चारसेट प्रयोग गर्न थालेको दृश्य पनि स्कूप नै थियो । त्यसभन्दा अगाडि पत्रको माध्यमबाट सञ्चार आदानप्रदान गर्ने जनसेनाहरुले सञ्चारबाट कुरा गरिरहेको तस्वीर पनि मैले नै पहिलोपटक सार्वजनिक गरें । तत्कालीन कम्पनी कमाण्डर (हाल पाँचौं डिभिजनअन्तर्गत दीर्घस्मृति व्रिगेड कमाण्डर) सन्तोषले सञ्चार सेटबाट जवानहरुलाई निर्देशन दिइरहेको फोटो पनि हिमाल खबरपत्रिकाले छापेको थियो । कमाण्डरहरु मात्र होइन उच्चस्तरका नेताहरुलाई पनि मैले पहिलोपटक देख्दै थिएँ । पोष्टबहादुर बोगटी, रविन्द्र श्रेष्ठ, पम्फा भुसाल आदि नेता पनि मेरो नजरमा पहिलो थिए । कृष्णबहादुर महरालाई भने वार्ताकालमा देखिसकेकाले मेरो ध्यान अरु नेताहरुमा नै बढी गयो । कार्यक्रमका लागि ५० हजार जनता मात्र होइन मञ्च पनि भव्य बनाइएको थियो । लालीगुराँसका मालाले दर्जनौं अतिथिहरुलाई स्वागत गरिरहँदा हजारौं जनताले तालीले स्वागत गरिरहेको दृश्य निकै रोचक थियो । त्यतिबेलासम्म रुकुम (बाहिरबाट गएको) बाट पत्रकार म मात्रै थिएँ भने रोल्पाबाट खेम बुढा र किरण आचार्य पुगेका थिए । जनयुद्धभित्रै रहेर पत्रकारिता गरिरहेका मनऋषि धिताल, सचिन रोकालगायतका पत्रकारहरु त हुने नै भए । पहिले त त्यहाँ राजधानीबाट अन्य पत्रकार आउने कुरा रहेछ तर पछि के के भयो आएनन् । कार्यक्रम चल्दासम्म रमाइलोपारामा समाचार टिपियो तर जब कार्यक्रम सकियो त्यसपछि भने बढ्दै गएको चिसो जस्तै हाम्रो मनमा पनि चिसो पस्न थाल्यो । पत्रकार हुनुको नाताले त्यति ठूलो कार्यक्रमको समाचार नदिनु आफ्नै पेशाप्रतिको अपमान हुन्थ्यो । तर दिने हो भने पनि त्यहाबाट हजारौं कोष टाढा रहेका हाम्रा मिडियाहरुलाई समाचार पठाउने माध्यम नै केही थिएन । दिउँसो जति धेरै रौनकताका साथ समाचार संकलन गरियो, साँझ स्तब्ध भएर ती समाचारलाई झोलामा थन्क्याएर बासको खोजीमा हिंड्नुको विकल्प पनि थिएन । तर उता मित्र मनऋषि धिताल भने हाम्रो समाचार पठाउने धोको पूरा गर्नेतिर लागिरहनुभएको रहेछ । पहिले त हामीलाई त्यो पनि थाहा थिएन तर पछि थाहा पायौं कार्यक्रमका अतिथि नेकपा माओवादीका प्रवक्ता कृष्णबहादुर महरासँग अत्यन्त महंगो शुल्क लाग्ने स्याटेलाइट फोन रहेछ । मनऋषिजी त्यही फोनबाट जतिसक्यो छोटो समयमा भए पनि हामीलाई समाचार टिपाउने वातावरण मिलाउँदै हुनुहुन्थ्यो । हामीले थाहा पायौं थवाङबाट दाङ वा काठमाडौं जहाँ गरे पनि एक मिनेटको १ सय ५ रुपैयाँ शुल्क लाग्दो रहेछ । तर हामीलाई त्यो निःशुल्क नै मिलाइएको थियो । मनऋषिजीले महरासरबाट स्याटेलाइट मागेर ल्याउनुभयो । शुरुमा मैले काम गर्ने सञ्चारमाध्यम नेपाल समाचारपत्रमा फोन सम्पर्क गर्न थाल्यौं त्यसपछि मैले रुकुमबाट समाचार पठाउने अर्को मिडिया दाङको नयाँ युगबोध दैनिकलाई सम्पर्क गर्न खोज्यौं तर पटक्कै सम्पर्क हुन सकेन । अन्य साथीहरुले पनि प्रयास गर्नुभयो तर सफल भइएन । अब भने ढुक्कका साथ निद्रा लाग्ने भयो किनकि त्यति ठूलो कार्यक्रमको समाचार प्रकाशित नहुने चिन्ता रहेन । त्यति मात्र होइन ज्यान फुरुङ पनि भयो किन कि त्यो समाचार भोलिको पत्रिकामा पहिलो पेजमा आउँदैछ र त्यसमा मेरो बाइलाइन हुने छ । विश्वले सम्मान गरिरहेको थवाङलाई राम्ररी हेर्न पाएकोमा पनि म निकै हर्षित थिएँ । राताम्य ध्वजा फराइरहेको थवाङ, हरेक घरका भित्ताहरुहरुमा माक्र्स, एंगेल्स, लेनिन, स्टालिन, माओ र प्रचण्डका तस्वीरहरु कोरिएका छन् । २०१५ सालको निर्वाचनमा कम्युनिष्टलाई भोट खसालेका, २०३८ सालको पञ्चायती चुनाव बहिष्कार गरेका, सोही वर्ष सैनिक अप्रेशनको सामना गरेर पनि २०३९ सालको स्थानीय निर्वाचनमा कम्युनिष्ट समर्थक उम्मेदवारलाई भारी मतले विजयी बनाएका थवाङवासी साँच्चिकै महान् रहेछन् । कोही थवाङवासीहरु अजम्बरी जनकम्युनमा लामबद्ध हुँदै थिए त कोही अन्य सहकारी व्यवसाय सञ्चालन गर्दै थिए । त्यसो त थुप्रै थवाङीहरु मुक्तियात्रामा लामबद्ध भइसकेका थिए । बधाई छ, थवाङ र थवाङवासीलाई । हिजो थवाङवासीले अटूटरुपमा उठाएको क्रान्तिको झण्डामुनि यतिबेला देशभरिका लाखौं श्रमजीवी समुदाय गोलबन्द भएका छन् । विश्वभरका श्रमजीवी वर्गको आशाको किरण बनेको थवाङ । धन्य छ थवाङ, जसले विश्वका श्रमजीवी जनतामा आशा किरण छरिरहेको छ । गौरवको अनुभूति भइरहेछ मलाई पनि किनकि मैले त्यही प्यारो र सम्माननीय थवाङबाट आफ्नो पत्रकारितालाई नयाँ उचाईमा उठाउने मौका पाएँ ।

२०६५ बैसाख १०, थवाङ रोल्पा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>