एक गाउँ, एक पुस्तकालय

चाहिएको बेला पढ्न सकिनेगरी पुस्तकलगायतका पाठ्य सामग्री राखिने ठाउँलाई पुस्तकालय भनिन्छ । नेपालमा पुस्तकालय स्थापनाको परम्परा पुरानो हो । कुनै बेला पुस्तालय एक मात्र ज्ञानआर्जनको यस्तो प्रभावकारी स्रोत मानिन्थ्यो, फलानो पुस्तकालयका कारण मैले यो ठाउँमा पुगेको हुँ भन्ने मान्छेहरु अहिले पनि धेरै पाइन्छन् । अहिले पाठकहरु पुस्तकालय जाने परम्परा अलि घटेको छ यद्यपि बदलिंदो परिवेशमा आधारित पुस्तालयको आवश्यकता अझ बढेर गएको छ ।

ज्ञानप्राप्तिको महत्वपूर्ण स्रोत पुस्तकालयलाई पनि अब बदलिंदो परिवेशसँगै सूचना प्रवृधिबाट सुसज्जित बनाएर नयाँ शिराबाट अघि बढाउन जरुरी छ । नेपालमा पुस्तकालय स्थापनाको परम्परा लामो भए पनि पुस्तकालय दिवस मनाउन थालिएको धेरै भएको छैन । २०६५ सालदेखि मात्र पुस्तकालय दिवस मनाउन थालिएको हो । यसैक्रममा १५ भदौ २०७० मा छैटौं पुस्तकालय दिवस मनाइएको छ भने ।

“एक गाउँ एक पुस्तकालय, एक विद्यालय एक पुस्तकालय” भन्ने नाराका साथ यो दिवस मनाइएको छ । सरकारले उच्चस्तरबाटै एक समिति गठन गरेर महत्वका साथ यो दिवस मनाएको छ भने जनस्तरबाट सञ्चालित विभिन्न पुस्तालयहरुले पनि दिवस मनाएका छन् । सँगसँगै सरकारले यही बर्षदेखि सबै विद्यालयमा पुस्तकालय पु¥याउने अभियान पनि शुरु गरेको छ । यी सबै प्रयासका बावजुद पुस्तकालय स्थापना र व्यवस्थापनका थुप्रै चुनौति हामीसँग रहेका छन् ।

नेपालमा विसं १८६९ भदौ १५ गते तत्कालीन राजा गीर्वाणयुद्ध शाहबाट डपुस्तक चिताई तहबिल” नाम राखी पुस्तकालयको स्थापना भएको थियो । पहिलो पुस्तकालय स्थापना भएको दुई शताब्दीपछि पनि पुस्तकालयको आवश्यकता घटेको छैन बरु बढेको छ । अझ आवश्यकताअनुरुप पुस्तकालय स्थापना हुन सकेका छैनन् र स्थापना भए पनि पुस्तकालयको सही व्यवस्थापन हुन सकेको छैन । कुनै जमानामा जनस्तरबाट पुस्तकालय स्थापना गर्ने काम आन्दोलन वा अभियानकै रुपमा अघि बढे पनि राज्यबाट त्यति ध्यान पुग्न सकेको देखिदैन । त्यसको प्रमुख कारण भनेको नेपालमा धेरै समय निरंकुश शासन रहनु पनि हो ।

१ सय ४ बर्षे राणा शासन र ३० बर्षे पञ्चायती व्यवस्थाको बेला शासकहरुले जनतालाई शिक्षा र जागरण दिनु आफ्नै खुट्टामा बञ्चरो हानेको महसुस गर्थे । जनताले लुकेर पत्रिका र पुस्तक पढ्ने अवस्था पनि रह्यो । बहुदलीय प्रजातन्त्रको स्थापनायता पनि पुस्तकालयसम्बन्धी राज्यको कुनै नीति बन्न सकेन । गणतन्त्रको स्थापनापछि बल्ल २०६५ देखि पुस्तकालय दिवस मनाउने नयाँ परम्पराको थालनी गरियो भने अहिले आएर “पुस्तकालय तथा सूचना व्यवस्थापन निर्देशिका” जारी भएको छ । योसँगै राज्यले “एक विद्यालय, एक पुस्तकालय”को नीति अघि सारेको छ ।

पुस्तकालयका सन्दर्भमा राज्यले लिएको पछिल्लो पहललाई सकारात्मक मान्नुपर्छ र यसलाई तीब्रता दिंदै नीतिलाई जीवन व्यवहारमा लागु गर्नसक्नुपर्छ । राज्यले नीतिमा भनेजस्तै प्रत्येक विद्यालयमा पुस्तकालय स्थापना गर्न सकियो भने ज्ञानको स्रोत विस्तारमा त्यो ठूलो उपलब्धि हुनेछ । शहर बजारमा त पुस्तकप्रति चासो हुनेहरुले पुस्तकालय नगएरै पनि विभिन्न माध्यमबाट पुस्तक पढ्न सक्छन् तर गाउँमा त्यस्तो संभव छैन । सबै गाउँमा पुस्तक नै पुग्दैनन् ।

विद्यालयका पाठ्यपुस्तक त शैक्षिकसत्र शुरु भएको छ महिनापछि पुग्ने हाम्रो देशका ग्रामीण क्षेत्रमा अरु पुस्तक समयमै पुग्लान् भनेर कसरी सोच्ने ? जति पुस्तक पुग्छन्, ती पनि आम नागरिकको पहुँचमा हुँदैनन् । टाढाबाट बोकाएर लैजाँदा ती पुस्तक निकै महंगा भइसकेका हुन्छन् । त्यसो त गाउँमा पुस्तक पढ्ने बानीको विकास पनि हुन सकेको छैन । यस्तो अवस्थामा ग्रामीण क्षेत्रमा स्थापना हुने पुस्तकालयको ठूलो महत्व रहन्छ, जहाँ आम नागरिकले निःशुल्क पुस्तक पढ्ने अवसर प्राप्त गर्न सकून् । जसले गर्दा गाउँगाउँमा पठन संस्कृतिको विकास पनि गर्ने छ । सकेसम्म राज्यले प्रत्येक गाउँमा विद्यालयबाहिर पनि सामुदायिक पुस्ताकालय स्थापना गर्ने पहल गर्नुपर्छ र अहिले नै त्यति नसके पनि उसैले घोषणा गरेको “एक विद्यालय, एक पुस्तकालय”को नीतिलाई प्रभावकारी बनाउनुपर्छ ।

एकातिर सकेजति गाउँगाउँमा पुस्तकाय स्थापना गर्न जरुरी छ भने अर्कोतिर भएका पुस्तकालयलाई सही व्यवस्थापन गर्दै स्तरबृद्धितर्फ पनि सोच्नुपर्छ । नभएका ठाउँमा पुस्तकालय स्थापना गर्नु त छँदैछ, भएका पुस्तकालय पनि व्यवस्थित छैनन् । भएका पुस्तकालय व्यवस्थित गर्ननसक्नु पनि चुनौति हो । तालिमप्राप्त दक्ष जनशक्ति र नयाँ–नयाँ पुस्तकको अभावमा भएका पुस्तकालयहरुले पाठकलाई आकर्षण गर्न सकिरहेका छैनन् । सँगसँगै अब पुस्तकालयहरुको स्तरबृद्धि पनि जरुरी छ ।

पुस्तकालयको स्तरबृद्धि भनेको पुस्तक मात्र राखिएका पुस्तकालयहरुलाई सूचना प्रविधिसहितका विद्युतीय पुस्तकालय अर्थात ई–लाइब्रेरीमा रुपान्तरण गर्नु नै हो । सूचना प्रविधिले यति धेरै छलाङ मारिसकेको छ कि अहिले चाहेको जुनसुकै सामग्री पनि इन्टरनेटमा पढ्न पाइन्छ । तर, हाम्रा पुस्तकालयहरुमा त्यस्तो सुविधा खासै छैन । पुस्तकका साथै इन्टरनेटको पनि व्यवस्था गर्न सकेमा र यो सागम्री यसमा पाइन्छ भन्ने जानकारी पाठकलाई दिन सकेमा नयाँ नयाँ सामग्री अध्ययनका लागि पाठकहरुलाई सजिलो हुने छ र पुस्तकालयप्रति आकर्षण पनि बढ्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>