सही बाटोमै छन् त पुष्पलाल र बिपीका अनुयायीहरु ?

राजनीतिक इतिहासमा धेरै नेताहरु जन्मछन् तर लामो समयसम्म सम्झनयोग्य नेताहरु कमै जन्मन्छन् । नेपालको राजनीतिक इतिहासमा पनि थुप्रै पात्र आए गए तर केही नेताहरुको बर्षौंसम्म सम्झना भइरहनेछ, तीमध्येका दुई व्यक्ति हुन्– पुष्पलाल श्रेष्ठ र बिपी कोइराला । नेपालमा दुई भिन्न बिश्व दृष्टिकोणलाई स्थापित गर्ने अग्रणी व्यक्तित्वहरु हुन्– पुष्पलाल र बिपी ।

संयोग नै मान्नुपर्छ– यी दुबै जनाको मृत्यु बर्ष फरक भए पनि महिना र गतेका हिसाबले एक दिनको अन्तरमा भएकाले दुबैको स्मृति दिवस पनि एउटै समयमा मनाउने गरिन्छ । वि।सं। १९८१ असार १५ गते जन्मेका पुष्पलालको २०३५ साल साउन ७ गते निधन भएको थियो भने २४ भदौ १९७१ मा जन्मेका बिपीको निधन ६ साउन ०३९ मा भएको थियो । उमेरका हिसाबले पनि एउटै पुस्ताका पुष्पलाल र बिपी नेपाली राजनीतिक इतिहासमा पनि ऐतिहासिक व्यक्तित्वको रुपमा स्थापित हुन पुगेका छन् । विश्व दृष्टिकोणका हिसाबले यी दुईले अलग अलग धारलाई नेपालमा स्थापित गरे ।

अझ कतिपय सवालमा ठिक विपरीत धार भन्दा पनि हुन्छ । बिपीले व्यक्तिको विकास र स्वतन्त्रतालाई प्रधान मान्ने प्रजातान्त्रिक दृष्टिकोणको वकालत गर्दै त्यसैलाई स्थापित गर्न प्रयत्न गरे भने पुष्पलालले समग्र समाजमा समानता स्थापित गरे व्यक्तिको अधिकार स्वतः सुरक्षित हुन्छ भन्ने साम्यवादी विचारलाई नेपालमा स्थापित गर्ने प्रयत्न गरे । अहिले पनि नेपाली राजनीति मूलतः यी दुई भिन्न विश्व दृष्टिकोणको वरिपरि केन्द्रित भएको छ । अझ अहिले वंशीय शासनको वकालत गर्ने राजनीतिक प्रणाली राजतन्त्रको अन्त्य भइसकेकाले प्रजातान्त्रिक र साम्यवादी ९कम्युनिष्ट० विचारधाराको वरिपरि नै नेपाली राजनीति घुमिरहेको छ भन्दा पनि हुन्छ ।

यस्तो अवस्थामा दुई भिन्न विचारलाई नेपालमा स्थापित गर्न महत्वपूर्ण योगदान गरेका पुष्पलाल र बिपीको सम्झना गर्नु अर्थपूर्ण छ । यी ऐतिहासिक व्यक्तित्वहरुलाई सम्झनु त महत्वपूर्ण हो नै, सँगसँगै यिनीहरुको सपना कति हदसम्म पूरा भयो र अनुयायीहरु यिनको मार्गदर्शन पछ्याइरहेका छन् कि छैनन् ? भन्ने अझ महत्वपूर्ण सवाल हो ।
पुष्पलालसहितका चार जना अगुवाले नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका हुन् । उनीमहरुमध्ये नरबहादुर कर्माचार्यबाहेक अरुको निधन भइसकेको छ । विश्वका मजदूरहरु एक हौं” भन्ने आव्हानसहित यी चार अगुवाले जन्माएको कम्युनिष्ट पार्टी विश्वका मजदूरलाई एक गराउने अभियानमा होइन, आफै दर्जनौं छिरामा विभक्त छ । संख्याका हिसाबले दुई तिहाइ जनमत कम्युनिष्टहरुको पक्षमा छ भनिन्छ तर यिनीहरुले घोषित उद्देश्य कति पूरा गरे भन्ने प्रश्नको भने सन्तोषजनक जवाफ पाउन सकिने स्थिति छैन । नेपालका कम्युनिष्टहरु वर्गीय विभेदको अन्त्य गर्दै समानतायुक्त समाज निर्माण गर्ने अभियानमै छन् वा त्यसबाट अलि चिप्लेका छन् ? कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको सम्झना गरिरहँदा यो प्रश्नको जवाफ पनि खोज्न जरुरी छ ।

सामन्तवाद र साम्राज्यवादविरोधी विश्व दृष्टिकोणको वकालत गर्दै आएका कम्युनिष्टहरुले नेपालमा श्रमजीवी वर्गको पक्षमा के कति भूमिका निर्वाह गर्न सके र आगामी दिनमा के कस्ता कार्यक्रममार्फत भूमिका निर्वाह गर्न सकिन्छ भन्ने बिषयमा पनि गहन छलफल जरुरी भइसकेको छ । नेपालका कम्युनिष्टहरुले निसंकोच आफूहरु पार्टी स्थापनाकालको उद्देश्य र आदर्शबाट चिप्लिएको स्वीकार गर्नुपर्छ र त्यसलाई सच्याउने भावी कार्यक्रम बनाउन सक्नुपर्छ ।

ठीक त्यस्तै बिपीको सम्झना गरिरहँदा उनका अनुयायी कांग्रेसजनले राष्ट्रियता, प्रजातन्त्र र समाजवादको पक्षका के कति भूमिका निर्वाह गर्न सके समीक्षा गर्न जरुरी छ । राष्ट्रियताको सवालमा बिपीका अनुयायीहरुले बिपीको आदर्श पछ्याउन नसकेको सहज स्वीकार गर्नसक्नुपर्छ । त्यस्तै प्रजातन्त्रको सवालमा पनि कांग्रेस बिपीको आदर्शअनुकूल चल्न सकेन । पार्टीभित्रै उसले आन्तरिक प्रजातन्त्रको कति अभ्यास गर्न सक्यो भन्ने एउटा सवाल होला भने शासनसत्ता सञ्चालनको सवालमा जनतालाई प्रजातन्त्रको अनुभूति कति गराउन सक्यो भन्ने अझ महत्वपूर्ण सवाल हो । विगतमा विपरीत आस्था र विश्व दृष्टिकोण अंगाल्नेहरुमाथि गरिएको दमन तथा बल प्रयोग अनि हरेक निकायमा राम्रा होइन हाम्रा राख्नुपर्छ भन्ने मान्यतासहित गरिएको अति राजनीतिकरण निश्चय नै बिपीले कल्पना गरेको प्रजातन्त्रसँग मेल खाने अभ्यास थिएन ।

कांग्रेसले बिपीलाई सबैभन्दा धेरै बिर्सेको क्षेत्र भनेको समाजवाद हो । नेपाली राजनीतिक इतिहासमा सबैभन्दा बढी निजीकरणको अभ्यास भएको कांग्रेसकै पालामा हो, यसले राज्य र समाजलाई होइन सीमित व्यक्तिहरुलाई बलियो बनाउने खतरा बढ्दै गएको छ । यी सबै नकारात्मक सकारात्मक अनुभवबाट पाठ सिक्दै नेपालका कम्युनिष्ट र कांग्रेसले नेपाली समाजलाई अग्रगति दिने भावी कार्यक्रम बनाउनुपर्छ, यदि उनीहरु साँचो अर्थमा पुष्पलाल र बिपीको सम्झना गर्न चाहन्छन् भने ।

तमाम कमजोरीका बावजुद पनि यी दुई दृष्टिकोणले नै नेपाली राजनीतिको नेतृत्व गरिरहेका छन् र अझ पछिल्लो दशकमा यी दुबैले आपसी सहमति र सहकार्यबाट अघि बढ्ने नयाँ बाटो तय गरेका छन् । यो सहकार्य र स्वस्थ प्रतिष्पर्धालाई अझ बढाउँदै मुलुक र जनताको समृद्धि अनि राष्ट्रको सार्वभौतिकता रक्षामा ध्यान केन्द्रित गर्न आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>