ए सरकार ! नागरिकको मायाँ छ कि छैन ?

भारतको उत्तराखण्डमा केही दिनअघि आएको बाढी पहिरोबाट बाँचेकाहरु नेपाल आउन फर्कन थालेका छन् । पश्चिम नेपालका अधिकांश जिल्लाबाट उत्तराखण्डको गौरीकुण्ड गएका नेपालीमध्ये कति हताहत भए र कति सकुशल छन् भन्ने नखुले पनि त्यहाँ बिपत्ति भोगेकाहरु फर्कन थालेपछि धेरै कुरा खुल्न थालेको छ । बिपत्ति भोगेर फर्केकाहरुले आफूले भागेका निकै कहालीकाल्दा पीडा सुनाउने गरेका छन् । त्यहाँबाट फर्केकाहरुको पीडा र अनुभूति समान खालको छ अनि उनीहरुले दिएको जानकारी पनि समानखालकै छ । फर्केका जति सबैले गौरीकुण्ड क्षेत्रमा १५ देखि २० हजार नेपाली रहेको र त्यसको केही हिस्सा हताहतीमा परेको बताएका छन् । गौरीकुण्डदेखि यमुनोत्री र केदारनाथसम्म जाने यात्रुहरुलाई बोक्नका लागि बर्षेनी नेपाली त्यहाँ जाने गर्दछन् । त्यहाँ डोली बोक्नेले प्रत्येक बर्ष नयाँ लाइसेन्स बनाउने प्रावधान रहेको र १५ हजारभन्दा बढीले यो बर्ष मात्रै लाइसेन्स बनाएको तथा ५/७ हजार जति त्यहाँ ब्यावसाय गरेरसमेत बसेकाले २० हजारको हाराहारीमा नेपाली रहेको त्यहाँबाट फर्केकाहरुले बताएका छन् । उनीहरुका अनुसार त्यहाँ ज्यान गुमाउने नेपालीको संख्या ठूलो छ ।


सुदूरपश्चिममा आएको विपत्तिलाई सम्हालिनसक्दै नेपालले अर्को विपत्तिको सामना गर्नुपर्ने देखिएको छ । उत्तराखण्डमा आएको बिपत्तिको धक्का नेपालले पनि व्यहार्नुपर्ने भएको छ । बाढी पहिरोबाट नेपालभित्रै पनि देशभरि गरी ३० जना जतिको ज्यान गएको छ भने केही हराइरहेका छन् । दार्चुलालगायतका जिल्लामा बगेको धनसम्पत्ति पनि ठूला क्षति हो तर धनसम्पत्ति जोड्न सकिएला, मानवीय क्षतिको पूर्ति हुन सक्दैन । ३० जना जतिको ज्यान जानु पनि सानो क्षति होइन, त्यसमा थप भारतमा हराइरहेका सयौं नेपाली जीवित फेला परेनन् भने त्यो हाम्रो मुलुक र हामी नेपालीका लागि ठूलो दुर्भाग्य सावित हुने छ । अहिलेसम्म धेरैको शव भेटिएको र कतिपयको परिवारजनले धार्मिक कार्यसमेत शुरु गरिसकेकाले मृतकको संख्या निकै बढ्ने देखिएको छ । तर, घोर बिडम्बना त के भएको छ भने आफ्ना २० हजार नागरिक प्रभावित हुँदा र सयौं हराइरहेको खबर आउँदा पनि नेपाल सरकार एक शब्द बोलेको छैन ।
भारतस्थित नेपाली दूतावासले विवरण संकलन गरिरहेको र भारत सरकारसँग समन्वय गरेर उद्दारमा सहयोग गरेको जनाए पनि त्यहाँ कति नेपाली थिए, त्यसमध्ये कति सकुशल छन् भन्ने सूचनासमेत नराख्नु आफ्ना नागरिकप्रतिको गैरजिम्मेवारीपन हो । सरकारले चाँडोभन्दा चाँडो भारतमा हराएका नेपालीको खोजी गर्नुपर्छ । जीवितको खोजी गरी घरसम्म पुर्‍याउने व्यवस्था र मृतकको शव ल्याउने अनि उनीहरुका लागि परिवारलाई आवश्यक राहतको प्रबन्ध गर्न सरकारले अब ढिला गर्नु हुँदैन । सरकारले चाहेमा त्यहाँ रहेका नेपालीहरुको बारेमा जानकारी लिन त्यति समस्या पनि छैन । उनीहरुले आफ्नो विवरण दर्ता गराएर मात्र गौरीकुण्ड क्षेत्रमा काम शुरु गरेकाले त्यहाँका कार्यालयहरुमा कागजात नबगेको भए त्यसबाट पनि आधार लिन सकिन्छ ।

अहिले बाँचेका नेपाली प्रत्येक नाकाहुँदै नेपाल छिरेका छन् । नेपाल छिर्ने सबैको विवरण राख्ने र उनीहरुबाट थप उनका साथीहरुको समेत विवरण लिएर खोजी गर्न सकिन्छ । त्यस्तै ज्यान गुमाएका वा हराएका धेरैको जानकारी घर परिवारले पाइसकेका छन् । सबै जिल्ला प्रशासन र जिल्ला प्रहरीमार्फत स्थानीयस्तरबाटै सूचना संकलन गरेर मृतक वा बेपत्ताको सूची तयार पार्न र सोहीअनुरुप खोजी तीब्र पार्न जरुरी छ । सक्छ भने सरकारले नेपालबाटै एउटा टोली भारत पठाउन जरुरी छ, सक्दैन भने पनि त्यहाँस्थित दूतावासलाई परिचालन गरेर नेपालीहरुको खोजी गर्न ढिला गर्नु हुँदैन । मृतकहरुको अन्तिम सूची तयार भएपछि उनका परिवारलाई नेपाल र भारत दुबैतिरबाट आवश्यक राहतको प्रबन्ध गर्न पनि सरकारले अहिल्यैदेखि तयारी थाल्न जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>