नयाँ संविधाननबाट मात्रै लोकतन्त्र संस्थागत गर्न संभव

सात बर्षअघि शाही शासनको अन्त्य गरी निकै उत्साह र उमंगका साथ लोकतन्त्र पुनर्वहाली भएको थियो । अहिले लोकतन्त्र दिवस मनाइरहँदा सात बर्षअघिको त्यो उत्साह र उत्साहलाई केही शिथिलता, केही निराशा र केही अन्योलपूर्ण स्थितिले ढाकेको छ । हिजोको एकता र विश्वासको ठाउँ आज टुटफूट, आशंका र अविश्वासले लिएको छ ।

हिजो बादल फाटेर सफा चट भएको आकाशजस्तो देखिने राजनीतिक परिदृश्य अहिले धुमिल छायाभित्र छ र क्षितिज उघ्रिसकेको छैन । यी सबै अन्योल, अस्थिरता, अनिश्चिताका बीचबाट नेपाली राजनीति अघि बढिरहेको भए पनि हामीसँग प्राप्त महत्वपूर्ण राजनीतिक उपलब्धिहरु जीवित छन् । कसैले खोस्नै नसक्ने गरी लोकतन्त्र पुनर्वहाली भएको छ । कसैले कर्के नजर लगाउनै नसक्ने गरी गणतन्त्र स्थापना भएको छ । संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्याय, समावेशी समानुपातिक प्रतिनिधित्वजस्ता महत्वपूर्ण सिद्धान्तहरु स्थापित भएका छन् र सबैभन्दा महत्वपूर्ण उपलब्ध नेपाली जनता आफ्नो अधिकारप्रति जागरुक भएका छन् ।

राजनीतिक परिवर्तन र सामाजिक विकासको आन्दोलनमा पैदा भएको यो अभूतपूर्व उर्जालाई सम्मान तथा अहिले देखिएका सबै आशंका, अन्योल र अस्थिरतालाई अन्त्य गर्दै लोकतन्त्रको संस्थागत विकासमा लाग्नु अहिलेको महत्वपूर्ण दायित्व हो ।

२०६३ सालको बैशाख ११ जोसुकै परिवर्तकारीले गर्व महसुस गर्ने दिन हो । त्यो नेपाली राजनीतिमा एउटा उत्साहको दिन हो । परिवर्तनका लागि नेपाली जनताले गरेको वीरतापूर्ण संघर्षले उत्कर्ष प्राप्त गरेको दिन हो बैशाख ११ । ग्रामीण वस्तीदेखि नांगा खुट्टा लिएर शहर सदरमुकाम र राजधानी छिरेका लाखौंलाख जनताले नारायणहिटीमाथि धावा बोलेको ऐतिहासिक दिन हो त्यो ।

नेपाली जनताले आफ्नै बल र तागतमा निरंकुश शाहीतन्त्रलाई घुडा टेकाएको उल्लासमय दिन हो त्यो । विदेशी शक्तिको सबैखाले हस्तक्षेप, शासक प्रशासकहरुको त्रास, चालबाजी र प्रलोभनलाई इन्कार गर्दै शाही सत्ताका तत्कालीन प्रमुख ज्ञानेन्द्रलाई आत्मसमर्पण गराएको दिन हो त्यो । जसरी सम्झिए पनि नेपाली राजनीतिमा युग–युगसम्म सम्झिरहने दिन हो बैशाख ११ ।

लोकतन्त्र पुनर्वहाली भएको यो दिनलाई सम्झँदा १९ दिने जनआन्दोलन र त्यसको जग १० वर्षे जनयुद्धको क्रममा ज्यान गुमाएका हजारौं हजार सहिद, घाइते र बेपत्ताहरुलाई सम्मान गर्दै उनीहरुका परिवारको अवस्थाप्रति राज्यलगायत सबै क्षेत्रको विशेष ध्यानाकर्षण हुनु जरुरी छ । तिनै सहिद, घाइते र वेपत्ताहरुको अमूल्य रगत तथा परितर्वनकारी आम जनताको उत्साहपूर्ण संघर्षले नै लोकतन्त्र पुनर्वहाली हुन सम्भव भएको हो ।

शान्तिपूर्ण संघर्ष गरिरहेका राजनीतिक दलहरु र सशस्त्र संघर्ष गरिरहेको नेकपा माओवादीबीच २०६२ मंसिर ७ गते १२ बुँदे समझदारी भएपछि लोकतान्त्रिक आन्दोलनले मूर्तरुप लिएको थियो । राप्तीकै कुरा सम्झने हो भने पनि ०६३ बैशाख १० गते घोराहीमा ओर्लिएको जनसागर संभवतः राप्तीकै राजनीतिक इतिहासमा पहिलो थियो ।

यसरी लाखौं लाखौं जनताको एकताबद्ध संघर्षद्वारा नै ढाइ सय बर्षे पुरानो राजतन्त्रले आत्मसमर्पण गर्न संभव भएको थियो, जसका लागि मुलुकमा लोकतन्त्रको पुनर्वहाली भयो र अहिले लोकतन्त्र दिवस मनाउन पाइएको छ । जनताको बलिदानपूर्ण संघर्ष र दलहरुको उच्चतम सहकार्यको प्रतिफल हो– लोकतन्त्रको पुनर्वहाली ।

तर, अहिले दलहरुले जनताको त्यो बलिदान र आफ्नै सहकार्य र संघर्षको गौरवगाथा भुलेका छन् । जनताले रगत पसिना बगाएर ल्याएको लोकतन्त्र (गणतन्त्र) त अब कसैले खोस्न सक्ने छैन तर त्यसलाई संस्थागत गर्न ढिला हुँदा जनताले आफ्नो जीवन व्यवहारमा परिवर्तनको अनुभूति गर्न पाएका छैनन् । बरु, झन पछि झन कठिनाइ भोग्नुपरिरहेको छ ।

१९ दिने आन्दोलनको म्याण्डेटअनुसार प्राप्त उपलब्धिहरुको रक्षा गर्दै थप उलब्धिका लागि नयाँ बाटो खोल्न ०६४ चैत २८ गते संविधानसभाको निर्वाचन गरियो । दुई बर्षमा संविधान बनाउने जिम्मेवारी पाएको संविधानसभाले चार बर्षसम्म पनि संविधान बनाउन सकेन ।

संविधानसभा अवसान भएको एक बर्षसम्म देश पूरै अन्योलबाट गुज्रियो । अहिले बल्लबल्ल दलहरु संविधान निर्माणका लागि अर्को संविधानसभा निर्वाचन गर्ने सहमतिमा पुगेर चुनावी सरकार त गठन गरेका छन् तर त्यसको सुनिश्चितता अझै भइकसको छ ।

एक त देश अहिले ६ बर्ष अगाडिको अवस्थामा फर्कने विडम्बनापूर्ण स्थितिमा पुगेको छ, त्यसमा पनि अझै निर्वाचन सुनिश्चित नहुनु लोकतन्त्रको संस्थागत विकासका लागि गम्भीर चुनौति हो । जतिसक्यो चाँडो निर्वाचन गराएर नयाँ संविधान निर्माण गरी लोकतन्त्र संस्थागत गर्नु नै अहिलेको मुख्य दायित्व हो । विभिन्न बहानामा यसमा ढिलासुस्ती गर्ने वा यसबाट भाग्न खोज्ने दुबै खाले प्रवृत्तिलाई निरुत्साहित गर्न जनस्तरबाट पनि चौतर्फी दबाबको खाँचो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>