नेपालका कम्युनिष्टहरुले जवाफ दिनैपर्ने प्रश्न

नेपालमा राजनीतिक दलहरुको इतिहास त्यति पुरानो छैन । नेपालमा अहिले जति पनि दलहरु क्रियाशील छन्, यिनीहरुको जरा खोज्न त्यस्तै ६/७ दशकभन्दा पर पुग्नु पर्दैन । मूलतः अहिले पनि नेपालमा साम्यवादी र प्रजातान्त्रिक दुई विचारधाराकै वरिपरि दलहरु गोलबन्द छन् । ती दुबै विचाराधासम्बद्ध दलहरुका माउ नेताहरुले एउटै एउटै समयमा पार्टी स्थापना गरेका हुन् ।

लेनिनको जन्म दिन २२ अप्रिलमा परेको र सोही दिनमा कम्युनिष्ट पार्टी स्थापना भएकाले अंग्रेजी पात्रोअनुसार नै स्थापना दिवस मनाउने गरिन्छ । कम्युनिष्ट घटकलगायत यो व्यवस्थाप्रति विश्वास राख्नेहरुले साढे दशकको चुनौति र उपलब्धि अनि अबको बाटोबाट समीक्षा गर्न सके भने मात्र स्थापना दिवस मनाउनुको सान्दर्भिकता रहने छ ।

हरेक कुराको शुरुवात सानैबाट हुने गर्दछ र नेपालमा राजनीतिक दलहरुको स्थापना पनि त्यसरी नै भएको थियो । पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य र नारायण विलास जोशीले भारतको कलकत्तता श्यामबजारस्थित भाकपाका सदस्य पंकजकुमारको सानो कोठामा बसेर नेपाल कम्युनिष्ट पार्टी गठन गरेका थिए । आजभन्दा ६४ बर्षअघि त्यही एउटा सानो कोठाबाट शुरु भएको नेपाली कम्युनिष्ट आन्दोलनमा अहिले ठूलो हिस्सा समाहित छ र आफूहरुलाई दुई तिहाइ जनताको समर्थन रहेको कम्युनिष्ट घटकहरुको दावी छ । गत संविधानसभा निर्वाचनको परिणाम हेर्दा उक्त दावी सही नै देखिन्छ । अझै बामपंथी शक्तिहरुबीचको सहकार्य र एकता हुनुपर्छ भन्ने ठूलो जनमत पनि छ । नेपालमा कम्युनिष्टप्रति यति आकर्षण हुदाहुदै जनताको जबजरजस्त प्रश्न छ– उनीहरु किन मिलेर अघि बढ्न सक्दैनन् ? अनि अर्को प्रश्न छ– उनीहरुले साढे छ दशकको यात्रामा जनताको पक्षमा के के उपलब्धि हासिल गरे र अब के गर्छन् ? यी प्रश्नको जवाफ नदिएर अब कुनै पनि कम्युनिष्ट घटक अघि बढ्न सक्दैनन् ।

कम्युनिष्ट आन्दोलनका लागि अन्तर्राष्ट्रिय परिस्थिति अझै प्रतिकूल छ । सोभियत संघको पतनपछि जसरी विश्व एक ध्रुवीय भयो भनेर प्रचार गरियो र सोहीअनुरुप राजनीतिक, आर्थिक, शैक्षिक, सांस्कृतिक नीतिहरु अघि सारियो, अहिले पनि त्यसमै विश्व अघि बढिरहेको छ । हुन त समाजवादी मुलुक चीनको उदय, विभिन्न मुलुकहरुमा चलेका समाजवादी आन्दोलन तथा विभिन्न देशमा चलेका समाजवादी सत्ताहरुले फेरि बहुध्रुवीय विश्वको संभावनाहरु नजिकिन थालेका छन् तर पनि समग्रहमा समाजवादी आन्दोलनका लागि अन्तर्राष्ट्रिय प्रतिकूल नै छ । तथापि, नेपालमा कम्युनिष्ट आन्दोलनप्रति जनसमर्थन उल्लेख्य छ । यो यथार्थ हुदाहुदै पनि अब बहसमा ल्याउनैपर्ने र सम्वोधन गर्नैपर्ने कटु प्रश्न के हो भने त्यति ठूलो जनसमर्थन पाएका कम्युनिष्टहरुले जनताको जीवनस्तर सुधारमा के परिवर्तन ल्याउन सके ? हुन त यो प्रश्न सबै विचारधारासम्बद्ध दलहरुलाई हो किनकि यहा कसैले केही गर्न सकेका छैनन् तर बढी समर्थन पाएको दावी गर्ने र जनताका शक्ति हौं भन्ने कम्युनिष्टहरुको भागमा यो प्रश्न अलि बढी नै पर्दछ ।

यो कुरा निश्चित हो कि विभिन्न कालखण्डमा राजनीतिक दलहरुले राजनीतिकरुपमा जनतालाई जागृत गराउन महत्वपूर्ण भूमिका खेलेका छन् र त्यसमा कम्युनिष्टहरुले पनि महत्वपूर्ण खेलेका छन् । अझ पछिल्लो दुई दशकयता कम्युनिष्टहरुले नै रानजीतिक आन्दोलनको अगुवाइ गरिरहेका छन् र सबै हिसाबले पछाडि पारिएका समुदायलाई आफ्नो हक अधिकारका लागि आवाज उठाउनसक्ने बनाएका छन् । राजनीतिक जागरण ल्याउन नेपालका कम्युनिष्टहरुको नेतृत्वदायी भूमिका खेलेका छन् भन्नु इतिहासको यथार्थ स्वीकारोक्ति हो । फलस्वरुप ठूला ठूला राजनीतिक परिवर्तन भए र धेरै कल्पनासमेत नगरेको गणतन्त्र मुलुकका नागरिक पनि हामी बनेका छौं । तर, यो राजनीतिक परिवर्तनलाई आर्थिक–सामाजिक–सांस्कृतिक रुपान्तरणमा अभिव्यक्त गरेर जनताको घरदैलोमा पु¥याउने काममा उनीहरुले नेतृत्वदायी भूमिका खेल्न सकिरहेका छैनन् ।

अबको नेपाली कम्युनिष्ट आन्दोलनको मुख्य अभिभारा यही हो । संविधान निर्माणमार्फत राजनीतिक अस्थिरताको अन्त्य, मिल्नसक्नेस“ग एकता वा कार्यगत एकताको माध्यमबाट सहकार्यको वातावरण बनाउ“दै अन्य सबै विचारधारासम्बद्ध दलहरुलाई सगसगै लिएर राष्ट्रिय हितअनुकूल आत्मनिर्भर अर्थतन्त्र र सोहीअनुकूल सांस्कृतिक रुपान्तरणमा जोड दिंदै जनतालाई परिवर्तनको अनुभूति दिलाउने कार्यक्रममा नेपालका कम्युनिष्ट घटकहरु केन्द्रित रहनुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>